काठमाडौँ, जेठ ३ गते । कुशल भुर्तेलको अविजित शतकीय पालिको सहयोगमा नेपालले शनिबार आइसिसी क्रिकेट वल्र्डकप लिग २ मा बलियो अमेरिकालाई सजिलै नौ विकेटले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रनमै अलआउट भएको थियो । नेपालले ३६.१ ओभरमै एक विकेटको क्षतिमा १९९ रन बनाएर लक्ष्य हासिल ग¥यो ।
यस नतिजासँगै शीर्ष चारमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा चयन हुने नेपालको झिनो सम्भावना कायम रह्यो । आठ टिम सहभागी विश्वकप लिग २ २०२३/२४–२०२७ ‘साइकल’ मा नेपालले अझै १० खेल खेल्न बाँकी छ । जसमध्ये नेपालले अब दुई खेल मात्र घरेलु मैदानमा खेल्ने छ । नेपाल २६ खेलमा नौ जित, १५ हार र दुई अनिर्णीत खेलसहति २० अङ्क बनाएर सातौँ स्थानमा कायम छ । यद्यपि उसले पाँचौँ स्थानमा रहेको नामिबियासँगको दुरी दुई र छैटौँ स्थानमा रहेको क्यानडासँग एक अङ्कमा झार्न सफल भएको छ । नामिबियाले नेपालले भन्दा दुई खेल पनि बढी खेलेको छ । क्यानाडनाले भने नेपालभन्दा दुई खेल कम खेलेको छ । नेपालले जितसँगै अन्तिम स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) लाई छ अङ्कले पछाडि पा¥यो । चालु विश्वकप लिग २ बाट विश्वकप ग्लोबलर क्वालिफायरमा स्वतः चयन हुने शीर्ष चार र एकदिवसीय मान्यता प्राप्त गर्न शीर्ष छ स्थानमा रहनुपर्ने प्रावधान रहेको छ । यस शृङ्खलामा राम्रो नतिजा निकालेर उपाधि जित्ने लक्ष्यसहित नेपाल आएको अमेरिकाले भने लगातार दोस्रो हार बेहोरेको हो । अमेरिका २६ खेलबाट ३६ अङ्कमा छ । नेपाल आउनुअघि अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अमेरिका दोस्रो स्थानमा झरिसकेको छ । ३० खेलबाट ३८ अङ्क बनाउने स्कटल्यान्ड शीर्ष स्थानमा छ । स्कटल्यान्ड गत विजेता टिम पनि हो ।
भुर्तेलको सम्झनलायक पुनरागमन
पछिल्ला तीन खेलमा बेवास्तामा परेका भुर्तेलले शतक बनाएर सम्झनलायक पुनरागमन गर्नुभयो । अमेरिकालाई सामान्य स्कोरमा समेटेपछि नै नेपाल जितको प्रबल दाबेदार बनिसकेको थियो । अझ प्रारम्भिक ब्याट्सम्यान भुर्तेलले अविजित १२० रन बनाएपछि नेपालले जित थप सहज बन्यो । उहाँले ११८ बलको सामना गरी १३ चौका र चार छक्का प्रहार गर्नुभयो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो सर्वाधिक स्कोर पनि हो । यसै गरी उहाँको यो दोस्रो ओडिआई शतक हो । यसअघि उहाँले सन् २०२३ मा विश्वकप लिग २ मै नामिबियाविरुद्ध ११५ रनको पालि खेलेर आफ्नो पहिलो शतक बनाउनुभएको थियो । भुर्तेललाई अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखले पनि उचित साथ दिनुभयो । भुर्तेल र आसिफले पहिलो विकेटका लागि १४५ रनको साझेदारी गर्नुभयो । आसिफले ७२ बलमा आठ चौकासहित ५८ रन बनाउनुभयो । आसिफको यो १५ औँ ओडिआई अर्धशतकीय पालि हो । आसिफ नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुनुहुन्छ । अमेरिकाका मोहम्मद मोहसिनले आसिफलाई आउट गरेपछि सो साझेदारी भङ्ग भयो तर त्यसपछि भुर्तेलले ईशान पाण्डेसँग अविजित साझेदार निर्वाह गरी नेपाललाई जित दिलाउनुभयो । भुर्तेल र ईशानले पछिल्ला दुई खेल खेलेका विनोद भण्डारी र अर्जुन कुमालको स्थान लिनुभएको हो ।
ईशानको पदार्पण
ईशानले अमेरिकाविरुद्ध खेलेर अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पदार्पण गर्नुभएको हो । घरेलु क्रिकेटमा लगातार सानदार प्रदर्शन नेपाल ‘ए’ का लागि पनि निरन्तरता दिएपछि ईशान टिममा पर्नुभएको थियो । उहाँ आफ्नो पहिलो ओडिआई खेलमा ३० बलमा एक चौकासहित २० रन बनाएर अविजित रहनुभयो । ईशानले अन्तर्राष्ट्रिय खेलमा नेपाली सिनियर टिमको जर्सी लगाएको भने यो पहिलो पटक होइन । छ वर्षअघि ईशानले टी–२० अन्तर्राष्ट्रिय खेलमा पदार्पण गर्नुभएको थयो । उहाँले कुल चार टी–२० खेल खेल्नुभएको छ ।
दीपेन्द्र बलिङमा चम्के
पछिल्ला खेलमा नेपाली ब्याटिङको भार एक्लैले उठाउँदै आएका दीपेन्द्रले अमेरिकाविरुद्ध ब्याटिङ गर्नु परेन । यद्यपि उहाँले बलिङमा सर्वाधिक चार विकेट लिएर नेपालको जितमै उत्तिकै महत्वपूर्ण योगदान दिनुभयो । दीपेन्द्रले शीर्ष व्रmममा दुई र पुछारका दुई ब्याट्सम्यानलाई आउट गरेपछि सानदार सुरुवात पाएको अमेरिका ३९ बल बाँकी छँदै अलआउट भयो । दीपेन्द्र ७.३ ओभरमा २४ रन खर्चेर चार विकेट लिनुभएको हो । यसअघि प्रारम्भिक ब्याट्सम्यान स्मिट पटेल र ‘वन डाउन’ ब्याट्सम्यान सेहान जयसूर्याले अमेरिकालाई राम्रो सुरुवात दिलाउनुभएको थियो । प्रारम्भिक ब्याट्सम्यान सयान जहाङगिर ६ रनमा सोमपालको बलिङमा आउट भएपछि पटेलले जयसूर्यासँग मिलेर दोस्रो विकेटका लागि ११८ रनको साझेदारी गर्नुभयो । जयसूर्यालाई ५० रनमा आउट गरेर दीपेन्द्रले सो साझेदारी तोड्नुभयो । त्यसपछि अमेरिकाका नयाँ कप्तान साइतेजा मुकामुल्ला (४ रन) को महत्वपूर्ण विकेट सन्दीप लामिछानेले लिनुभयो । पछिल्लो खेलमा मुकामुल्लाले स्कटल्यान्डविरुद्ध प्रतिकूल परिस्थितिमा ७५ बलमा पाँच चौका र आठ छक्कासहित १०४ रनको चामत्कारिक पालि खेल्नुभएको थियो । नेपालले लगातार विकेट लिएपछि अमेरिकाले पालि समाल्न सकेन । एक समय एक विकेटको क्षतिमा १२२ रनमा रहेको अमेरिका थप ७३ रन जोड्दा अलआउट भयो । स्मिटले ८९ बलमा आठ चौका र तीन छक्कासहित ८३ रन बनाउनुभयो । अमेरिकाको पालि धराशायी पार्न दीपेन्द्रलाई सोमपाल, सन्दीप र गुल्सन झाले पनि उचित साथ दिनुभयो । सोमपालले दुई तथा सन्दीप र गुलसनले एक/एक विकेट लिनुभयो ।
खेलमन्त्री मैदानमा
नेपाल र अमेरिकाबिचको खेल हेर्न विशिष्ट व्यक्तिहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुग्नुभएको थियो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, इङ्ग्ल्यान्ड क्रिकेट टिमका पूर्वकप्तान एन्ड्र्यु फिलन्टफ, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याललगायतले रङ्गशालामै पुगेर खेलाडीलाई हौसला बढाउनुभएको थियो । आफ्नो समयमा विश्वका सर्वश्रेष्ठ अलराउन्ड मानिएका फ्लिन्टफले भुर्तेललाई म्यान अफ दी म्याचको पुरस्कार पनि प्रदान गर्नुभयो ।
शतकभन्दा जित महत्वपूर्ण
कुशलले ओमानसँग एउटा खराब सट खेलेर तीन खेल टिमबाहिर परेको भन्दै आज आफू शतक बनाएर टिमलाई जिताउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । यद्यपि उहाँले भन्नुभयो, “शतकभन्दा जित महत्वपूर्ण छ, यस जितमा बलरको भूमिका पनि उत्तिकै छ । बलिङ राम्रो भएपछि अमेरिकालाई सामान्य स्कोरमा समेट्न सक्यौँ, जसले ब्याटिङ सहज बन्यो ।” अमेरिकाका प्रशिक्षक पुबुदु दसनायकेले आफ्नो टिमले दुवै खेलमा कमजोर प्रदर्शन गरेको बताउनुभयो । “हामीले धेरै गल्ती ग¥यौँ, राम्रो सुरुवातलाई निरन्तरता दिन सकेनौँ, हामीले आफ्नो क्षमताको ५० प्रतिशत पनि खेलेनौँ,” दसनायकेले भन्नुभयो ।