• ८ चैत २०८२, आइतबार

लुम्बिनी म्याराथनमा तोडियो सन्तोषीको वर्चस्व

blog

लुम्बिनी, चैत ८ गते । कुनै पनि प्रमुख प्रतियोगितामा कहिल्यै यकिनका साथ विजेताको पूर्वानुमान लगाउन सकिँदैन । यद्यपि नेपालको महिला लामो दुरीको दौडको कुरा गर्ने हो भने मज्जाले पक्का विजेताको अनुमान गरिन्छ । कारण हो, घरेलु लामो दुरीको दौडमा सन्तोषी श्रेष्ठले गरेको एक छत्र राज । उनै गोल्डेन गर्ल सन्तोषीको दबदबा शनिबार चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा भङ्ग भएको छ । पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा भएको प्रतियोगिताको हाफ म्याराथनमा त्रिभुवन आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले सन्तोषीलाई दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बनाउनुभयो । सन्तोषी यस प्रतियोगितामा ह्याट्रिक गर्ने दाउमा हुनुहुन्थ्यो । पहिलो संस्करणमा सहभागी नभएकी सन्तोषीले दोस्रो र तेस्रो संस्करणमा यहाँ उपाधि जित्नुभएको थियो । विजेता २६ वर्षीय पूर्णलक्ष्मीले पनि सन्तोषीको उपस्थितिमा आफूले प्रथम स्थान हासिल गर्छु भन्ने अपेक्षा नगरेको तर खेल हो जे पनि हुन सक्छ भन्ने सोचाइमा दौडिएको बताउनुभयो ।

पूर्णलक्ष्मीको बदला

पछिल्लो संस्करणमा सन्तोषीसँग पछाडि परेपछि पूर्णलक्ष्मी दोस्रो स्थानमा थन्किनुभएको थियो । त्यसैले पूर्णलक्ष्मीका लागि यो जित मिठो बदला पनि भयो । पूर्णलक्ष्मीले एक घण्टा १७ मिनेट १० सेकेन्ड समय लगाएर सबभन्दा चाँडै दौड पूरा गर्नुभयो । सन्तोषीले १:१८.४० सेकेन्ड समय लगाउनुभयो । करिब आठ किलोमिटरसम्म सन्तोषीले अग्रता नै बनाउनुभएको थियो तर त्यसपछि पूर्णलक्ष्मीले सन्तोषीलाई पछाडि पारेपछि आफ्नो अग्रता गुमाउनुभएन । सन्तोषीले पानी परिरहेको समयमा दौडनु पर्दा आफूलाई गाह्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “करबि आधा दुरीमा पुगेपछि मांसपेशीमा खिचाव उत्पन्न होला जस्तो भयो, त्यसपछि जोगिएर दौडेँ । यद्यपि पूर्णलक्ष्मीले पनि आज राम्रो दौडेको हो । सन्तोषी सन् २०१९ पछि पहिलो पटक उपविजेतामा सीमित भएको हो । यसबिच उहाँले भाग लिएका सबै घरेलु प्रतियोगिता जित्नुभएको थियो । आर्मीकै दुई धाविका निशा सार्की (१.१९:१९ सेकेन्ड) तेस्रो र सुनसरी रोकाया (१:२१.४६ सेकेन्ड) चौथो हुनुभयो । यसै गरी रुवान सिइङ (१.२२.३८ सेकेन्ड) पाँचौँ स्थानमा रहनुभयो । विजेता पूर्णलक्ष्मीले  एक लाख ५० हजार, उपविजेता सन्तोषीले एक लाख, तेस्रो हुने निशाले ८० हजार, चौथो हुने सुनसरीले ५० हजार र पाँचौँ स्थान प्राप्त गर्ने रुवानले ३० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

विनोद पहिलो पटक च्याम्पियन

पुरुष म्याराथनमा त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले शनिबार पहिलो स्थान हासिल गर्नुभयो । विनोदले म्याराथनमा च्याम्पियन बनेको यो पहिलो पटक हो । उहाँले पानी पर्दा दौडन कठिन हुने भएप्न आफूले राम्रो समयसहित उपाधि जित्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कठिन अभ्यासको पुरस्कार पाएको छु । प्रायः ठुला खेलाडी नै दौडेका थिए तर आज मेरो सुरुदेखि अन्तसम्म राम्रो भयो । मैले सुरुदेखि नै अन्तसम्म अग्रता बनाएर जित प्राप्त गरेँ । म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले प्राप्त गरे । विजेता विनोदले २ घण्टा १७ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरी पहिलो स्थान प्राप्त गर्नुभयो । दोस्रो हुने सुशीलकुमार शाहीले २ घण्टा १८ मिनेट १६ सेकेन्ड समय लगाएर दोस्रो तथा आर्मीकै नरेन्द्र सिंह राउतले २ घण्टा १९ मिनेट ५८ सेकेन्ड समयसहित तेस्रो स्थान हासिल गर्नुभयो । यसै गरी चिनका वाङ चि (२.२१: ०५ सेकेन्ड) चौथो तथा केन्याका जुलियस वाकोमे (२.२३.०० सेकेन्ड) पाँचौँ स्थानमा रहनुभयो । पुरुष म्याराथनमा विजेता विनोदले तीन लाख ५० हजार, दोस्रो हुने सुशीलले दुई लाख ५० हजार र तेस्रो हुने नरेन्द्रले एक लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । यसै गरी म्याराथनमा शीर्ष १० स्थानमा रहने धावकहरूलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र पाँच हजार रुपियाँ प्रदान गरिएको थियो ।

यसै गरी भेटरान्स पाँच किमी दौडमा धर्म महर्जनले पहिलो स्थान हासिल गर्नुभयो । सो दौडमा रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो हुनुभयो । पुरुष पाँच किलोमिटर खुला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो बन्नुभयो । पाँच किलोमिटर दौड गल्र्समा दीपशिखा शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शीर्ष तीन स्थानमा रहनुभयो । पाँच किलोमिटर ब्वाइजमा युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्दकुमार यादवले तेस्रो स्थान हासिल गर्नुभयो । 

यी सबै विधाका विजेताले पनि नगद पुरस्कार प्राप्त गरे । म्याराथनकै अवसरमा पारेर तीन किलोमिटरको वाकाथनको पनि आयोजना गरिएको थियो । पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनियाँ राजदूतावासको सहयोगमा भएको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा लुम्बिनी पिस म्याराथनका संयोजक अशोक वज्राचार्यलगायतले विजेतालाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । एनओसीले सन् २०२२ देखि लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन गर्दै आएको हो । यसै कार्यक्रम अन्तर्गत शुक्रबार साँझ नेपाल र चिनियाँ कलाकारको प्रस्तुति सामेल सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।