काठमाडौँ, वैशाख २२ गते । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले मङ्गलबार ओमानविरुद्ध खेल्दै छ । संयुक्त अरब इमिरेट्स (युएई) पनि सहभागी यस त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो । पछिल्ला तीन खेलमध्ये दुईमा जित हासिल गरिसकेको घरेलु टिम नेपालले प्रतियोगिताको अन्त्य सुखद रूपमा गर्ने चाहना राखेको छ ।
यद्यपि नेपालले यस शृङ्खलामा हात पारेका दुवै खेल युएईविरुद्ध प्राप्त गरेको थियो । नेपालले ओमानसँग भने डकवर्थ लुइसको नियम अनुसार १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो । हेड टु हेडमा पनि ओमान अगाडि छ । नेपाल र ओमानले हालसम्म नौ ओडिआई खेलेका छन् । जसमा ओमानले पाँच र नेपालले तीनमा जित हात पारेका छन् । एक खेल रद्द भएको थियो ।
ओमानको प्रदर्शन यस प्रतियोगितामा अस्थिर छ । उसले युएईविरुद्धका दुवै खेलमा पराजय बेहोरेको थियो । त्यसैले ओमानविरुद्धको पछिल्लो हार र विगतका प्रदर्शनले नेपालको मनोबल कम भएको छैन । नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ओमानविरुद्ध बदला लिनका लागि आफ्नो टिमले सकारात्मक सोचाइसहित आक्रामक खेल खेल्ने बताउनुभएको छ । अहिले टिम लयमा आउँदै छ, त्यसैले ओमानविरुद्ध राम्रो नतिजा ल्याउन सक्छौँ, उहाँले भन्नुभयो ।
दीपेन्द्र अहिले सानदार लयमा रहनुभएको छ । उहाँले पछिल्लो खेलमा युएईविरुद्ध ९४ बलमा १०० रनको शतकीय पालि खेल्नुभयो । यस शृङ्खलामा अहिलेसम्मको प्रदर्शन ७५, ६० र १०० रन रहेको छ । उहाँले आफ्नो लयलाई कायम राखेर नेपाललाई अन्तिम खेलमा पनि जित दिलाउन प्रयास गर्ने बताउनुभएको छ । उहाँसँग स्टार लेग स्पिनर सन्दीप लामिछानेले पनि सानदार बलिङ गरिरहनुभएको छ । यस शृङ्खलामा उहाँले तीन खेलमा सात विकेट लिइसक्नुभएको छ । ओमानका कप्तान जतिन्दर सिंह भने नेपालका लागि चिन्ताको विषय हुन सक्छ । पछिल्लो खेलमा उहाँले ९६ बलमा १३० रन बनाएर नेपालको बलिङ निरीह बनाउनुभएको थियो ।
आठ राष्ट्र सहभागी लिग २ मा नेपाल सातौँ स्थानमा छ । नेपालले २३ खेलमा १६ अङ्क बनाएको छ । ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ । नेपाललाई आगामी एकदिवसीय विश्वकपको ग्लोबल चयनमा स्वतः चयन हुन शीर्ष चारमा रहन जरुरी छ । सो लक्ष्य पूरा गर्न नेपाललाई डिभिजन लिग २०२४–२७ को बाँकी रहेका धेरैभन्दा धेरै खेल जित्नुपर्ने हुन्छ । नेपालका कप्तान रोहित पौडेलले आशा भने छोड्नुभएको छैन । उहाँले दबाबमा राम्रो नतिजा निकाल्ने नेपाली क्रिकेट टिमको स्वभाव हो, भन्नुभएको छ । पछिल्लो पटक नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा पनि स्वतः चयन भएको थियो । कप्तान पौडेलले यसलाई नै प्रेरणाका रूपमा लिएर खेल्ने बताउँदै आउनुभएको छ ।
नेपालले चार दिनअघि युएईविरुद्धको खेलमा नियमित प्रारम्भिक जोडी कुशल भुर्तेल र आसिफ सेखको स्थानमा युवा ब्याट्सम्यान अर्जुन कुमाल र अनुभवी विनोद भण्डारीलाई खेलाएको थियो । अर्जुन आफ्नो पदार्पण खेलमा ११ रनमा आउट भए पनि विनोदले अर्धशतकीय पालि खेलेर आफ्नो चयनलाई सही साबित गर्नुभएको थियो । त्यसैले ओमानविरुद्धको खेलमा विनोदलाई बेवास्ता गर्ने स्थिति छैन ।
यस शृङ्खलामा तीन जित प्राप्त भएमा नेपालले अर्को हप्ता घरेलु मैदानमै सुरु हुने लिग २ का लागि मनोबल उच्च पार्ने छ । सो शृङ्खलामा अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहेका अमेरिका र स्कटल्यान्डसँग नेपालले प्रतिस्पर्धा गर्ने छ ।