• २१ वैशाख २०८३, सोमबार

नापी कार्यालय तनहुँमा नयाँ अभ्यास

blog

सेवाग्राहीले देख्ने गरी नापी कार्यालयमा राखिएको हाजिरी विवरण बोर्ड । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख २१ गते ।
नापी कार्यालय तनहुँले सेवाग्राहीको सहजताका लागि कार्यालय प्रवेशद्वारमै कर्मचारीहरूको विस्तृत विवरणसहित सूचना बोर्ड राखेर सुशासनको नयाँ अभ्यास सुरु गरेको छ । कार्यालयमा प्रवेश गर्नासाथ देखिने गरी भित्तामा राखिएको उक्त बोर्डमा कुन कर्मचारी उपस्थित छन्, को अनुपस्थित छन् र उनीहरू कुन कोठामा कार्यरत छन् भन्ने जानकारी सेवाग्राहीले सहजै प्राप्त गर्न सक्छन् ।

प्रवेशद्वारको भित्तामा राखिएको उक्त बोर्डमा नापी अधिकृतदेखि अमिनसम्मका सबै कर्मचारीको नाम, पद तथा उनीहरू बस्ने काउन्टर वा कोठा नम्बर उल्लेख गरिएको छ । साथै, कर्मचारीहरू कार्यालयभित्र छन् वा बाहिर छन् भन्ने जानकारीसमेत स्पष्ट रूपमा संकेत गरिएको हुन्छ । यस व्यवस्थाले सेवाग्राहीलाई कर्मचारी खोज्न कोठा–कोठा धाउनुपर्ने बाध्यता हटाएको छ ।

यस व्यवस्थापछि सेवाग्राहीहरू सहज महसुस गरेको देखिएको छ । नापी कार्यालयबाट काम सकेर फर्किनुभएकी व्यास नगरपालिका–१ भादगाउँकी सेवाग्राही जुना पन्थले कार्यालयको यो नयाँ शैलीले काम गर्न निकै सजिलो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले कुन कोठामा जाने र कर्मचारी कहाँ छन् भनेर खोज्दै समय खेर जान्थ्यो, अहिले भित्ताको बोर्ड हेरेर सिधै सम्बन्धित कर्मचारी कहाँ जान पाइन्छ । काम पनि छिटो भयो ।”

कार्यालय प्रमुख विजयकुमार सिंहका अनुसार सेवाग्राहीलाई अलमल नहोस् र पारदर्शी सेवा प्रवाह होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । उहाँले सुशासनलाई प्रभावकारी बनाउन अधिकांश सेवा १० मिनेटभित्रै सम्पन्न गर्ने प्रयास भइरहेको बताउनुभयो ।

बोर्डसँगै गुनासो सुन्ने अधिकारीका रूपमा कार्यालय प्रमुखकै तस्बिर र मोबाइल नम्बरसमेत राखिएको फ्लेक्स टाँसिएको छ, जसले सेवाग्राहीलाई समस्या परेमा सीधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको छ ।

त्यसैगरी, कार्यालयले सेवा प्रवाहमा प्रविधिको समेत प्रयोग गरेको छ । प्रत्येक अमिनले भित्र बसेर गरेको काम सेवाग्राहीले बाहिर राखिएको एलईडी मोनिटरमार्फत प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गरिएको छ । यसले कर्मचारीको काममा पारदर्शिता बढाएको कार्यालयको दाबी छ ।

सेवा प्रवाहलाई थप अनुशासित बनाउन कार्यालयमा दैनिक राष्ट्रिय गान बजाएर सेवा सुरु गर्ने गरिएको छ । बिहान ठीक ९ बजे स्पिकरमार्फत राष्ट्रिय गान बजाइन्छ र त्यसपछि मात्र कर्मचारीहरूले आ–आफ्नो कार्यस्थलमा बसेर काम सुरु गर्छन् ।