• २१ वैशाख २०८३, सोमबार

चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

blog

शेरबहादुर सार्की
बाजुरा, वैशाख २१ गते ।
बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ का ७३ वर्षीय नैन बुढा रहेका छन् । बुढा आइतबार दिउँसो वनमा बाख्रा चराउन गएको बेला माथिल्लो भिरबाट चट्याङ लागेर ढुङ्गा खस्दा घाइते हुनुभएको थियो ।

उहाँलाई हिजो साँझ उपचारका लागि कोल्टी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार वैशाखयता जिल्लामा केही पटक चट्याङ परे पनि यसअघि मानवीय क्षति भएको थिएन । हिजो भने एक जना वृद्धको ज्यान गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसअघि परेका चट्याङबाट मानवीय क्षति भएको थिएन, तर ५० भन्दा बढी पशुचौपाया मरेका छन् । जसमा स्वामिकार्तिक खापर गाउँपालिकामा ३९ र जगन्नाथ गाउँपालिकामा २१ वटा बाख्रा मरेका हुन् ।”

पछिल्लो समय बाजुरामा बाढीपहिरो र चट्याङको जोखिम बढ्दै गएको भन्दै स्थानीयलाई सतर्क रहन तथा कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको सूचना अधिकारी शाहीले बताउनुभयो ।