• २० वैशाख २०८३, आइतबार

विमानस्थलबाट स्रोत नखुलेको २७ लाख नगद बरामद

blog

विमानस्थलबाट बरामद भएको नगद रुपियाँ ।

शशिधर पराजुली 

विराटनगर, वैशाख २० गते । विराटनगर विमानस्थलमा स्रोत नखुलेको अवैध रकम ओसारपसार गर्नेहरूविरुद्ध प्रहरीले निगरानी बढाएसँगै पक्राउ पर्नेको संख्या बढ्न थालेको छ । 

पछिल्लो दुई दिनमा छुट्टाछुट्टै उडानमार्फत काठमाडौँ जान लागेका दुई व्यक्तिलाई प्रहरीले करिब २७ लाख रुपियाँसहित नियन्त्रणमा लिएको हो । विमानस्थल सुरक्षा गार्डले शनिबार दिउँसो ३ः३५ बजे श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिकलाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको हो ।

भारतको मालदह जिल्ला सुजागञ्जका ३६ वर्षीय मोहिदिल अलीको झोला चेकजाँच गर्दा स्रोत नखुलेको १५ लाख ९८ हजार रुपियाँ फेला परेको थियो । यसअघि शुक्रबार राति पनि विमानस्थलबाटै स्रोत नखुलेको रकमसहित एक नेपाली नागरिक पक्राउ परेका थिए । 

बुद्ध एयरको उडानबाट काठमाडौँ प्रस्थान गर्न लागेका सुनसरी, धरान उपमहानगरपालिका –१८ का ३५ वर्षीय दिलीप तामाङलाई ११ लाख रुपियाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुवै व्यक्तिले आफूसँग भएको नगदको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । दुई दिनको अवधिमा विमानस्थलबाट कुल २६ लाख ९८ हजार रुपियाँ बरामद भएको छ ।

बरामद गरिएको रकमसहित तामाङ र अलि दुवैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ । विमानस्थलबाट दिनहुँजसो स्रोत नखुलेको रकम बरामद हुन थालेपछि सुरक्षाकर्मीले चेकजाँचमा थप कडाइ गरेको छ ।