हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), बैशाख २० गते । मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचेका सुवास थकालीले ब्यवसायी रूपमा याक नाक (चौरी) पालन सुरू गर्नुभएको छ । चौरीपालनका लागि राम्रो सम्भावना देखेर थकालीले मार्फाबाट एकै पटक खरिद ९० याकचौरी खरिद गर्नुभएको हो ।
यस बर्ष हिमालय चौरीपालन संरक्षण समितिमा पाँच जना नयाँ चौरीपालक थपिएका छन् । हिमालय चौरीपालन संरक्षण समितिका सचिव सोजन हिराचनका अनुसार थपिएका नयाँ चौरीपालकमा टुकुचेकै धनराज शेर्पाले छिमेकी जिल्ला मनाङबाट ८५, कोवाङका विमल शेरचनले ५०, देउरालीका श्यामबहादुर छन्त्याल ४१ र देउबहादुर विकले ३१ याक र नाक खरिद गरी ल्याउनुभएको छ ।
एउटा याक र चौरीको एक लाख रूपियाँसम्म पर्छ । जिल्लामा चौरीपालनका लागि हब मानिने थासाङमा नयाँसँगै कुल २६ गोठ भएको सचिव हिराचनले बताउनुभयो । हिराचन भन्नुहुन्छ, ‘‘चौरीपालनमा धेरै चुनौती भए पनि आकर्षण बढेको छ, नयाँ सदस्यलाई समितिमार्फत सम्मान गरिएको छ ।’’ समितिले हरेक बर्ष धेरै संख्यामा पालन गर्नेलाई सम्मान कार्यक्रम समेत गर्ने गरेको याकचौरी कृषक महासंघका केन्द्रिय सचिव हिराचनको भनाइ छ ।

जिल्लामा अन्य ब्यवसायमा लागेकाहरू समेत चौरीपालनमा आकर्षित भएको अवस्थामा चरन क्षेत्रको सुधारमा समेत सक्रिय हुनुपर्ने अवस्था रहेको बताउनुभयो । चौरीपालकले मार्चे लेक, धवलागिरि आइफल रहेको मुलीखर्क लेक, घरपझोङ गापामा बतासे लेकमा अस्थायी गोठ बनाएर चरन क्षेत्रको ब्यवस्थापन गर्ने गरेका छन् ।
चिसोसँगै अत्यधिक हिमपातले चरन पुरिएको अवस्थामा मात्र बस्तीनजिकै ल्याउने गरिएको छ । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा २३ वटा गोठमा र थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा ३९ गोठमा ५ हजारभन्दा बढी याक नाक रहेको अनुमान गरिएको छ ।
कार्यालयका प्रमुख डा.लालमणी अर्यालले कठोर हावापानीमा हुर्किने याक नाकको चरन क्षेत्र ब्यवस्थापन गर्न सकेमा गोठ विस्तारमा समस्या नभएको बताउनुभयो । समुन्द्री सतहदेखि करिब ५५ सयभन्दा माथिल्लो स्थानसम्म उक्लिने प्रमुख डा. अर्यालको भनाइ छ ।
बर्ष तल्लो मुस्ताङको बतासे लेंक, घट्टे खोल, मार्चे लेंकमा मेलामा याकनाकसँगै घिउ,सजावटका लागि सिङ, पुछर, पित्त बिक्री बिक्री हुन्छ । हिमाली भेगमा पाइने, गोरुजस्तो देखिने भाले जनावर याक हो भने गाईजस्तो देखिने शुद्ध नश्लको पोथी नाक (चौरी) हो ।
जिल्लाका ५ वटै स्थानीय तहका याकचौरी पालन व्यवसायीहरूको हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन गरिएको थियो ।