• २० वैशाख २०८३, आइतबार

सुरु भयो म्याग्दीमा मह काढ्ने सिजन

blog

धवलागिरी गाउँपालिका –२ मा मह सिकार गरिदै । तस्बिरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, बैशाख २० गते । हिमाली जिल्ला म्याग्दीका अग्ला र अप्ठ्यारा भीरहरूमा हुने भीर माहुरीको मह सिकार गर्ने सिजन सुरु भएको छ । उच्च पहाडी क्षेत्रका तल्लो भेकमा महसिकार गर्ने समय सुरु भएको भए पनि माथिल्लो भेकमा भने अझै पनि सिकार गर्ने समय सुरु नभएको सिकारीको भनाइ छ ।

अग्ला पहाडमा बोरीको सहारामा झुन्डिएर माहुरीको चाकासम्म पुग्ने प्रयास गर्दा जीवन मृत्युको दोसाँधमा पुगिने माहुरी काढ्नेहरुको बुझाइ छ । मह सिकार जोखिमयुक्त भए पनि परम्पराको अद्भुत कथा पनि मानिन्छ । यो जोखिमपूर्ण काम अहिले पनि म्याग्दीका उच्च पहाडी क्षेत्रमा कायम छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका –२, लुलाङको खोरियाका ६३ वर्षीय मोतीप्रसाद पाइजा यो मह सिकारका कमाण्डर हुनुहुहुन्छ । 

उहाँकै अगुवाइमा सयौं मिटर अग्ला भीरमा डोरी बाँधेर झुन्डिँदै माहुरीको घारबाट मह निकाल्ने काम हुन्छ । तल अथाह गहिराइ र माथि चट्टानी भीरबिच उहाँ बाँस र काठले बनाइएको परम्परागत पराङ (भ¥याङ) मा झुण्डीदै अडिएर घण्टौँसम्म मह काढ्ने काम गर्नुहुन्छ । यो केवल पेशा होइन, उहाँले चार दशकभन्दा बढी समयदेखि जोगाइरहेको पुख्र्यौली परम्परागत पेशा पनि रहेको गाउँलेको बुझाइ छ । 

म अहिले ६३ वर्षको भएँ त्यस्तै बिस–बाइस बर्षको उमेरदेखि निरन्तर भिर चहार्दै आएको छु, मोतीप्रसादले भन्नुभयो । जोखिम अब दैनिकी बनिसकेको छ, तर सुरुका दिनहरू सजिला थिएनन् उहाँले भन्नुभयो, “२३ वर्षको उमेरमा पहिलो पटक भीरमा झुन्डिँदा ज्यानै गुम्ने डरले शरीर थर्थराएको अहिले पनि याद आउँछ । तर अहिले अनुभवले डरलाई जितेको छ र ढुक्क हुन्छु ।”


मह सिकार व्यक्तिगत साहस मात्र होइन, सामूहिक प्रयास हो भनिन्छ । मोतीप्रसादलाई सहयोग गर्ने १० देखि १५ जनाको टोली हुन्छ । त्यो टोलीले भीरको माथिबाट डोरी सम्हाल्ने, तलबाट मह थाप्ने र व्यवस्थापन गर्ने काम गर्छ । मह निकाल्नुअघि हरियो घाँसको धुवाँ मौरीको घारतर्फ पठाइन्छ । 

धुवाँले मौरीलाई केहीबेर निस्क्रिय बनाउँछ र त्यसपछि मात्रै सिकारी घार नजिक पुगेर मह काढ्न सक्छन् । एउटा भीरमा दिनभर मेहनत गर्नुपर्ने हुन्छ, तर त्यसको प्रतिफल पनि उत्तिकै आकर्षक हुनेगरेको मोतीप्रसादको भनाइ छ । 

एकै भीरबाट एकसय लिटरसम्म मह निकाल्न सकिने र बजारमा यसको मूल्य प्रतिलिटर तीन हजार रुपियाँसम्म पुग्ने बताइन्छ । यस पटकको मह सिकारमा पनि झण्डै ५० लिटर जति मह निकालिएको मोतीप्रसादको भनाइ छ । मह सिकार गर्न जानेमा पछि यस पटक झण्डै ५० जना टोलीमा समावेस भएको र मोतीप्रसादलाई दुई लिटर र अन्य सबैले दामासाहीमा एक एक लिटर बाँडेर लिनेगरेको छ । 

मोतीप्रसादजस्तै मालिका गाउँपालिका–५, देविस्थानका ५४ वर्षीय खिमबहादुर घर्ती पनि भिर मह सिकारका अनुभवी नाम हो । सिजन सुरु भएसँगै गाउँका युवाहरूलाई समेटेर टोली बनाउँछन् र भीर उक्लिन्छन् मह सिकारीहरु । उनीहरुको नेतृत्वमा दुई समूह बनाएर काम गरिन्छ । एउटा समूह भीरको माथिबाट डोरी झार्ने र अर्को समूह तलबाट मह संकलन गर्ने गर्छन् । 

म्याग्दीका विभिन्न स्थानहरू गुर्जा, लुलाङ, कुइनेमंगले, चिमखोला, दग्नाम, दोवा, दाना, शिख र हिस्तान—भिर मह सिकारका लागि चिनिन्छन् । स्वाद र गुणका कारण यहाँको मह अन्तर्राष्ट्रिय बजारसम्म पुगिसकेको छ । स्थानीय विश्वासअनुसार यो मह शक्तिवर्धक तथा हाडजोर्नीका समस्या समाधानमा उपयोगी रहने विश्वास गरिन्छ ।

स्थानीय तह सरकारले समेत यो पेशाको संरक्षण र सुरक्षामा ध्यान दिन थालेको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले बताउनुभयो । आवश्यक सुरक्षा सामग्रीको व्यवस्था र सचेतना कार्यक्रममार्फत भिर मह सिकारलाई सुरक्षित बनाउने प्रयास भइरहेको उहाँको भनाइ छ । 

यो परम्परालाई पर्यटनसँग जोडेर म्याग्दीलाई ‘हनी हन्टिङ’ गन्तव्यका रूपमा चिनाउने पहल पनि अघि बढिरहेको भए पनि सफलता प्राप्त हुन नसकेको गाउँपालिकाको भनाइ छ । मह काढ्नु साहस र प्रकृतिसँगको सहअस्तित्वको जीवित उदाहरण रहेको धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।