• २१ वैशाख २०८३, सोमबार

निर्माण व्यवसायीको लापरबाहीले राजस्व कार्यालयको भवन अलपत्र

blog

अलपत्र परेको आन्तरिक राजस्व कार्यालय दमौलीको निर्माणाधीन भवन । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २१ गते । निर्माण व्यवसायीको चरम लापरबाहीले तनहुँमा एक भवन तीन वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि अझै अलपत्र रहेको छ ।

आन्तरिक राजस्व कार्यालय दमौली, तनहुँको भवन निर्माण कार्य अलपत्र परेको हो । १८ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि  भवन अधुरै रहँदा कार्यालय सञ्चालन र सेवा प्रवाहमा समस्या देखिएको छ ।

तनहुँ, गोरखा, लमजुङ र मनाङ कार्यक्षेत्र रहेको यस कार्यालयको भवन निर्माणका लागि भ्याट र कन्टिन्जेन्सी बाहेक पाँच करोड २० लाख ८४ हजार ४१७ रुपियाँमा सम्झौता भएको थियो ।

ओम इन्फ्राटेक भीमज्योति जेभी भरतपुर–७ सँग २०७८ साल असोज २२ गते सम्झौता भई २०७९ चैत २० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार निर्धारित समयमा काम नसकिएपछि २०८१ साल चैतसम्मका लागि म्याद थप गरिएको थियो ।

तर, थपिएको समयमा पनि प्रगति नभएपछि कार्यालयले निर्माण कम्पनीलाई कार्ययोजनासहित १५ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

भवन निर्माणका लागि आठ करोड रुपियाँको योजना बनेकोमा घटेर सम्झौता गरेको यस कम्पनीको हालसम्म ६३ प्रतिशत भौतिक र ४९ प्रतिशत मात्र आर्थिक प्रगति भएको छ ।

निर्माण व्यवसायीले हालसम्म दुई करोड ५० लाख रुपियाँ भुक्तानी लगिसकेका छन् भने कम्पनीको १ करोड ५० लाख रुपियाँ धरौटी रकम कार्यालयसँग सुरक्षित छ ।

काम अघि नबढेपछि कार्यालयले गत चैत २६ गतेको गोरखापत्र दैनिकमा मूल्याङ्कनका लागि सूचनासमेत प्रकाशन गरिसकेको छ । लापरबाही गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।