शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख २१ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ–माधवपुर–सिकापु सडक स्तरोन्नति आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चार वर्षअघि सुरु भएको उक्त सडक निर्माण कार्य लामो समयदेखि रोकिँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य भएका छन् ।
सहज यातायातको अपेक्षा गरेका स्थानीयले सडक निर्माणकै क्रममा उब्जाउ खेतबारीसमेत गुमाउनुपरेको गुनासो गरेका छन् । कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयले २०७९ वैशाखमा सुरु गरेको बहुवर्षीय आयोजनाअन्तर्गत मानेभञ्ज्याङदेखि मोलुङ खोला–सिकापुसम्म सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएको थियो ।
आयोजनाअन्तर्गत चार किलोमिटर कालोपत्रे र छ किलोमिटर ग्राभेल सडक निर्माण गर्ने योजना रहे पनि हालसम्म कालोपत्रे कार्य सुरु हुन सकेको छैन । सडक विस्तारका क्रममा माटेबेसी, बानाकु र ठुलबेसी क्षेत्रका उब्जाउ खेतहरू पुरिएको स्थानीयको भनाइ छ । सिकापु क्षेत्रमा सिँचाइ कुलोसमेत ढुंगा–माटोले पुरिँदा खेतीयोग्य जमिन बाँझो बन्न थालेको छ ।
“सडक बनाउने भनेर खेत दिएँ, अहिले न सडक छ न खेत,” स्थानीय कुमार राईले गुनासो गर्नुभयो ।
गत वर्ष यही सडकका कारण आएको बाढीले मानेभञ्ज्याङ–९ माटेबेँसीदेखि सुनकोशी–६ भुल्के जोड्ने जोलुङ्गे पुलमा क्षति पुर्याएको थियो ।
ठेक्का लिएको निर्माण कम्पनीले सुरुवाती चरणमा केही संरचना निर्माण गरे पनि त्यसपछि काम प्रभावकारी रूपमा अघि बढाएको देखिँदैन । निर्माणस्थलमा कामदारको उपस्थिति नहुनुका साथै उपकरणसमेत सञ्चालनमा नआएकाले काम ठप्पजस्तै बनेको छ ।
पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाका प्रमुख सुरेशप्रसाद साहका अनुसार आयोजनाको हालसम्म करिब ६२ प्रतिशत भौतिक तथा आर्थिक प्रगति भएको देखिन्छ । निर्माण कम्पनीले हालसम्म झण्डै १९ करोड रुपियाँभन्दा बढी भुक्तानी लिइसकेको उहाँले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार काममा ढिलासुस्ती हुनुमा ठेकेदार कम्पनीको लापरबाही मुख्य कारण हो । दोस्रो पटक थपिएको म्यादसमेत गत माघमा सकिएपछि आयोजनाको भविष्य अन्योलमा परेको छ ।
चालु आर्थिक वर्षका लागि विनियोजित बजेटसमेत खर्च हुन नसकेको अवस्थामा ठेक्का रद्द गर्ने विकल्प अघि सारिएको कार्यालयले जनाएको छ । “अब असारसम्म काम सम्पन्न नभए ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढ्छ,” प्रमुख साहले बताउनुभयो ।
निर्माण कम्पनीका प्रतिनिधि रमेश राईलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
२०७९ वैशाखमा ३१ करोड ३२ लाख ९२ हजार रुपियाँमा सिंह एण्ड ब्रदर्स विवश जेभी, काठमाडौँले उक्त सडक निर्माणको ठेक्का पाएको थियो ।
मानेभञ्ज्याङ बजार हुँदै माधवपुर, सुनकोशी गाउँपालिकाको सिस्नेरी–बल्खु हुँदै सिन्धुलीको फिक्कल गाउँपालिकासम्म सडक सञ्जाल जोड्ने उद्देश्यसहित आयोजना सुरु गरिएको हो ।
आयोजना अलपत्र पर्दा करोडौँ लगानी खर्चिए पनि न सडक निर्माण पूरा भएको छ, न स्थानीयको जीवनस्तरमा सुधार आएको छ । बरु खेतीयोग्य जमिन गुम्दा स्थानीय थप समस्यामा परेका छन् । यसले विकास निर्माणमा कमजोर अनुगमन, ठेकेदारको मनोमानी र कागजी प्रगतिको प्रवृत्ति उजागर गरेको सरोकारवालाहरूले बताएका छन् ।