अमरराज नहर्की
तनहुँ, वैशाख २१ गते । माटोको स्वास्थ्य अवस्था नबुझी खेती गर्दै आएका तनहुँको भिमाद नगरपालिकाका किसानले अब माटोको प्रकृति अनुसार सन्तुलित मल र बाली छनोटको परामर्श पाएका छन् ।
भिमाद नगरपालिका कृषि विकास शाखाको आयोजना तथा माटो परीक्षण प्रयोगशाला, गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा भर्खरै माटोको परीक्षण सकिएपछि किसानहरू लाभान्वित भएका हुन् ।
दुई दिने शिविरमा नगरपालिकाका वडा ५, ७, ८, र ९ का १५० वटा नमुनाको परीक्षण गरी किसानलाई माटोको रिपोर्ट प्रदान गरिएको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले किसानको लागत घटाउन परीक्षण फलदायी भएको बताउनुभयो ।
प्रमुख सुवेदीले भन्नुभयो, “अन्धाधुन्ध रासायनिक मल प्रयोग गर्दा माटो बिग्रने र लगानी खेर जाने समस्या थियो । अब किसानले जमिनको आवश्यकता बुझेर मात्र मल हाल्न पाउने छन् ।”
शिविरमा प्राविधिक टोलीले माटोको अम्लीयपन, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा जाँचगरी सुधारका उपाय सिकाएका थिए । माटो परीक्षणको रिपोर्ट हात परेसँगै किसानहरू अब कुन बाली लगाउने र माटो कसरी सुधार्ने भन्नेमा प्रस्ट भएका छन् । प्राविधिकहरू आफै किसानको बारीमा हालै पुगेर परीक्षणका लागि माटो निकालेका थिए ।