काठमाडौँ, फागुन २४ गते । आयोजक भारत र न्युजिल्यान्डबिच आइतबार आइसिसी टी–२० विश्वकपको उपाधि भिडन्त हुँदै छ । सो खेल जसले जिते पनि नयाँ इतिहास कायम हुने छ । न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ । टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ । सन् २०२१ को उपाधि भिडन्तमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई निराश पारेको थियो । यसै गरी भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ ।
२० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित विशाल नरेन्द्र मोदी रङ्गशालामा हुँदै छ । सो रङ्गशालामा फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन् । तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ ।
पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा भारतका सम्झना तितामिठा छन् । सन् २०२१ मा इङ्ग्ल्यान्डमा भएको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराएर न्युजिल्यान्ड च्याम्पियन बनेको थियो । दुई वर्षपछि भारतले नरेन्द्र मोदी रङ्गशालामै एकदिवसीय विश्वकपको फाइनलमा तितो हार बेहो¥यो । सो प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको भारतलाई घरेलु मैदानमा स्तब्ध बनाएर अस्ट्रेलिया च्याम्पियन बनेको थियो । यद्यपि टी–२० विश्वकपको पछिल्लो संस्करणमा च्याम्पियन बनेर भारतले घाउमा मलम लगाइसकेको छ ।
विश्व टी–२० वरीयतामा शीर्ष स्थानमा रहेको भारतलाई नै आइतबार फाइनल जित्ने दाबेदारका रूपमा लिइएको छ । प्रारम्भिक ब्याट्सम्यान सञ्जु साम्पसनको सानदार लयले पनि भारतले पछिल्ला दुई खेलमा ब्याटिङमा सानदार प्रदर्शन गरेको छ । बलिङमा जस्प्रित बुम्राह असाधारण देखिनुभएको छ । अर्का तेज बलर तथा अलराउन्डर हार्दिक पाण्ड्या पनि राम्रो लयमा हुनुहुन्छ । सो टिममा वरुण चक्रवर्ती, अक्सर पटेल जस्ता स्पिनर पनि छन् ।
यस प्रतियोगितामा सुपर आठ सकिँदा पनि न्युजिल्यान्डलाई फाइनल पुग्ने टिम मानिएको थिएन । न्युजिल्यान्डको फाइनलसम्मको यात्रा पनि उतारचढाव पूर्ण नै छ । यस प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डले समूह चरणमा दक्षिण अफ्रिका र सुपर आठमा इङ्ग्ल्यान्डसँग हार बेहोरेको थियो तर अहिले न्युजिल्यान्डका सबै जसो खेलाडी लयमा छन् ।
सुपर आठमा पाकिस्तानले श्रीलङ्काविरुद्ध ठुलो जित हासिल गर्न नसकेपछि मात्र न्युजिल्यान्ड राम्रो रन औसतका आधारमा सेमिफाइनलमा पुगेको हो । यद्यपि सेमिफाइनलमा न्युजिल्यान्डले अपराजित दक्षिण अफ्रिकालाई नौ विकेटले हराएर क्रिकेट जगत्लाई आश्चर्यमा पारेको थियो ।
प्रारम्भिक ब्याट्सम्यान फिल एलेनले दक्षिण अफ्रिकाविरुद्ध ३३ बलमा अविजित शतक बनाउनुभयो । जुन टी–२० विश्वकप इतिहासकै सबैभन्दा तेज शतक भएको छ । सो अविस्मरणीय पालिको सहयोगमा न्युजिल्यान्डले १७० रनको लक्ष्य ७.१ ओभर बाँकी छँदै पूरा गरेर सबैलाई अचम्मित पारेको थियो । एलेनले १० चौका र आठ छक्का प्रहार गरेर दक्षिण अफ्रिकाको सशक्त बलिङ आक्रमणलाई निस्तेज पार्नुभएको थियो । यो जितले फाइनलका लागि न्युजिल्यान्डको मनोबल उच्च हुने पक्का छ ।
सो खेलमा एलेनले टिम सिफर्टसँग मिलेर तेज गतिमा पहिलो विकेटका लागि ११७ रनको साझेदारी गर्नुभएको थियो । एलेन र सिफर्टलाई अहिले टी–२० क्रिकेटकै सबैभन्दा विस्फोटक प्रारम्भिक जोडीमध्ये एक मानिन्छ । तेस्रो क्रमका रचिन रवीन्द्रले परिस्थिति अनुसार ब्याटिङ गर्न सक्नुहुन्छ । सो टिममा ग्लेन फिलिप्स जस्तो अर्का विस्फोटक ब्याट्सम्यान हुनुहुन्छ । म्याट हेनरीले तेज बलिङ आक्रमणको नेतृत्व सानदार तरिकाले गरिरहनुभएको छ । न्युजिल्यान्डका स्पिन क्षेत्र पनि राम्रो छ । न्युजिल्यान्डको स्पिनमा विविधता रहेको छ । न्युजिल्यान्डलाई विश्वकपमा सधैँ राम्रो गर्ने र अन्तिम समयसम्म हार नमान्ने टिमका रूपमा लिइन्छ ।