गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
चार्जिङ स्टेसनको ट्रान्सफर्मर राखी विद्युत् लाइन जडान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि आयोगले आज मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वितरण केन्द्रका प्रमुख दासले चार्जिङ स्टेसन सञ्चालनका लागि विद्युत् लाइन छाडिदिन बार्गेनिङ गरिरहेको र घुस नदिए लाइन काटिदिने धम्की दिएको उजुरी परेको थियो ।
सोही सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उहाँलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा दासले नियमानुसार सम्पन्न भइसकेको कार्यका लागि घुस मागेको र रकम लिएको तथ्य स्थापित भएको अख्तियारले जनाएको छ ।
उहाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख ४० हजार रुपियाँ बिगो कायम गरिएको छ । अख्तियारले बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।