• २८ वैशाख २०८३, सोमबार

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

blog

काठमाडौँ, वैशाख २८ गते । यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपद्को जोखिम उच्च रहने आँकलन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणले आज सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा १९ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना औँल्याइएको छ । दैनिक तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुन सक्ने जनाइएको छ ।

प्रतिवेदनमा मनसुन अवधिमा देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । प्रभावितमध्ये ५२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुष हुनसक्ने जनाइएको ।

जोखिममा रहेका जनसङ्ख्यामध्ये पाँच वर्षमुनिका बालबालिका करिब एक लाख ६४ हजार, ६० वर्षमाथिका ज्येष्ठ नागरिक चार लाख १५ हजारभन्दा बढी तथा अपाङ्गता भएका व्यक्ति करिब ४८ हजार रहेको उल्लेख छ । प्रजनन उमेर समूहका महिलाको सङ्ख्या उल्लेख्य रहेको प्रतिवेदनमा जनाइएको छ ।

प्रदेशगत विश्लेषण अनुसार कोशी, मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसुनजन्य विपद्को जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ । विपद् पूर्वतयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरिएको छ ।

प्राधिकरणका उप सचिव रामबहादुर केसीले मनसुनजन्य विपद्बाट हुने क्षति न्युनीकरणका लागि पूर्वसूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । विभागका अनुसार यसवर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग तथा कोशी प्रदेशका मध्य भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ । कर्णाली र कोशी प्रदेशका उत्तरी भू–भागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताइएको छ । बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आँकलन छ ।

अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न भू–भागमा सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । त्यस्तै, न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागको निष्कर्ष छ ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश र कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ । रासस