सुजल श्रेष्ठ
प्यूठान, वैशाख २८ गते । गौमुखी गाउँपालिका प्युठानले नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ योजना अघि बढाएको छ ।
गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका विभिन्न खानेपानी योजनामार्फत ‘एक घर, एक धारा’ निर्माण कार्यलाई तीव्रता दिएको हो । पालिका भित्रका करिब ८५ प्रतिशत घरधुरीमा खानेपानीको सुविधा पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताउनुभयो ।
अहिले पालिकाले प्रत्येक घरमा धारा पुर्याउने गरी काम गरिरहेको बताउनुभयो । नेवाः कार्यक्रमसँग साझेदारी गरेर गाउँपालिकाले अहिले काम गर्दैआएको जनाएको छ । घर–घरमा धारा निर्माण भएपछि दैनिकीमा समेत सहजता भएको गौमुखी गाउँपालिका-६, लिवाङका मनबहादुर खत्रीले बताउनुभयो ।
गाउँका एक सय एक घरधुरीमा अहिले धारा निर्माण भएर खानेपानी सुचारु भएको उहाँको भनाइ छ । ‘पहिले सामूहिक रूपमा टोल अनुसार धारा थियो’ उहाँले भन्नुभयो, ‘अहिले एउटा घरमा एउटा धारा बनेको छ ।’
हालसम्म पालिकाभर एक हजार पाँच सय ४५ धरधुरीमा एक घर एक धारा सुविधा पुगेको गाउँपालिकाका इन्जिनियर शिव पुनले बताउनुभयो । गाउँपालिकामार्फत करिब ७००, लिफ्ट मार्फत २५० र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) कार्यक्रमको साझेदारीमा ५९५ घरधुरीमा धारा निर्माण भएको उहाँले जानकारी दिनुभयो ।