• २८ वैशाख २०८३, सोमबार

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

blog

टेक्सास (अमेरिका), वैशाख  २८ गते ।  अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियालगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो । लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबिचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए । 

सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो । परेड अवधिभर सहरको मुख्य क्षेत्र मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो । विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली वेशभूषा तथा सांस्कृतिक कार्यक्रमले सान फ्रान्सिस्कोको सडकलाई ‘नेपालमय’ बनाएको थियो । कार्यक्रममा प्रदर्शन गरिएका नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले समेत रुचिपूर्वक अवलोकन गरेका थिए ।

नेपाली समुदायलाई हौसला प्रदान गर्न अमेरिकाका विभिन्न स्थानीय जनप्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको आकर्षण पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, कुमारी, धिमे तथा लाखे नाच रहेका थिए । 

उत्सवमा सान फ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका मेयर तथा सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिनुभयो । रासस