काठमाडौँ, वैशाख १४ गते । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नेगरी सूचीकृत गर्ने निर्णय पनि गरेको छ । उहाँले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिष्पर्धा गरी व्यापारिक कारोबार गर्ने निकायको सूचीमा सूचीकृत गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, भन्सार नियमावली २०८३ स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय भएको छ ।”
बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।