भुवन कार्की
रूपन्देही, वैशाख १४ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ ।
वडाबासी वर्ष ४० का थिरलाल पाण्डेलाई गत शुक्रबार विहान १० बजे तिलोत्तमा वडा नं. ५ निवासी चिनजानका व्यक्ति वर्ष ५२ का मुकुन्द तिवारीले अत्यावश्यक काम भएको भनी वडाकार्यालयमा बोलाएर तीन जनाले आक्रमण गरेका हुन् ।
आक्रमणपछि गम्भीर घाइते हुनुभएका पाण्डे बुटवल ११ स्थित चौराहा अस्पतालमा आइसियू कक्षमा उपचाररत रहेको परिवारले जनाएका छन् ।
तिवारीसहित वडा नं. ७ का ४९ वर्षीय बासुदेव भट्टराई र वडा नं. ३ निवासी वर्ष ३२ का अर्जुन भट्टराईले पाण्डेमाथि साङ्घातिक आक्रमण गरेको वडा नं. ३ का वडाअध्यक्ष कल्याणप्रसाद पौडेलले पुष्टि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वडा कार्यालयमा उहाँहरू लेनदेनबारे छलफल गरिरहनुभएको थियो, केही कामले म केहीबेर बाहिर निस्केको थिएँ, केहीबेरपछि थिरलाल पाण्डेमाथि कुटपिट भएको थाहा पाएपछि हामीले आक्रमणकारीलाई प्रहरीको जिम्मा लगाएका हौँ ।’
शुक्रबारै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको भएपनि भोलिपल्ट शनिबार परेको भन्दै आफ्न्तको जिम्मामा छोडेको पीडित पाण्डेका भाई सुन्दर पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार आइतबार किटानी जाहेरी दिन जाँदा इलाका प्रहरी कार्यालय बुटवलले जाहेर लिन आनाकानी गरेको सुन्दरले उल्लेख गर्नुभयो ।
सोमबार पनि प्रहरीले किटानी जाहेरी लिन आलटाल गरिरहेको गुनासो उहाँले गर्नुभयो । आक्रमणकारीले प्रहरीमा पहुँच लगाएर छुट्ने प्रयास गरिरहेको उहाँको दाबी छ ।
पीडितका भाइ सुन्दरले आफ्ना दाजु थिरलालको नाक, मुख तथा टाउँकोमा गम्भीर चोट लागेको र स्वाथ्य अवस्था नाजुक रहेको उल्लेख गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमनबहादुर जिसीले घटनाबारे थप जानकारी लिने काम भइरहेको जानकारी दिनुभयो ।