• १३ वैशाख २०८३, आइतबार

महिलामाथि कुटपिट र बलात्कारको आरोप

गौशालामा घरमै पसेर महिला र बालबालिकामाथि कुटपिट, दुई जना पक्राउ

blog

प्रतिकात्मक तस्बिर

अजय शाह

गौशाला, वैशाख १३ गते। महोत्तरीको गौशाला नगरपालिका–८, भरलेहनीस्थित मुसहर बस्तीमा एक महिलामाथि कुटपिट र जबरजस्ती करणी भएको छ। शनिबार राति करिब १२ बजे घरमा सुतिरहेको अवस्थामा दुई जना व्यक्ति प्रवेश गरी २५ वर्षीया महिलामाथि आक्रमण र जबरजस्ती करणी गरेका हुन्।

प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार आरोपितहरूले पीडित महिलाका साथै उहाँका तीन जना साना छोरीहरूलाई समेत कुटपिट गरेका छन्। पीडितका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा रहेको बताइएको छ। पीडित महिलाले आफू र आफ्ना बालबालिकामाथि निर्घात कुटपिट गर्दै जबरजस्ती गरिएको भन्दै न्यायका लागि अपील गर्नुभएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय गौशालाले संलग्नताको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता शैलेन्द्र भट्टले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

कुटपिटबाट घाइते भएकी महिलाको स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो। उहाँलाई थप उपचार र स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ। यस घटनाले स्थानीय मुसहर बस्तीका बासिन्दा त्रसित र आक्रोशित बनेका छन्।