• १३ वैशाख २०८३, आइतबार

सुम्हालुङ कपमा आर्मीको ‘क्लिन स्वीप’

blog

दोस्रो संस्करणको ‘सुम्हालुङ कप’ खुल्ला ब्याडमिन्टन प्रतियोगिता समापनपछि विजयी खेलाडीका साथ अतिथि र आयोजक।

राधा लुइटेल

फिदिम, वैशाख १३ गते । पाँचथरमा आयोजित दोस्रो संस्करणको ‘सुम्हालुङ कप’ खुल्ला ब्याडमिन्टन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले वर्चस्व कायम गरेको छ। तीन दिनसम्म सञ्चालित प्रतियोगिताका मुख्य तीनवटै विधामा आर्मीका खेलाडीले उपाधि हात पारेका छन्।

प्रतियोगिताको पुरुष डबल्सतर्फ विधान अधिकारी र प्रवीन लिङ्थेपको जोडीले इलामका दिवस शंकर र भोजपुरका विशाल तामाङको जोडीलाई २१-६ र २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ।

महिला डबल्सतर्फ पनि आर्मीकै रशिला महर्जन र अमिता गिरीको जोडी विजयी भयो। उक्त जोडीले नवीन राई र निसम सुब्बाको जोडीलाई २१-१३ र २१-१४ को सेटमा हराउँदै उपाधि कब्जा गर्‍यो। यस्तै, मिक्स डबल्सतर्फ विधान अधिकारी र अमिता गिरीको जोडीले भोजबहादुर गुरुङ र रोजी राईको जोडीलाई २१-१९ र २१-१७ ले पराजित गर्दै सफलता प्राप्त गर्‍यो। विधान र अमिताले यस प्रतियोगितामा दोहोरो उपाधि जित्न सफल हुनुभएको छ।

विभिन्न ११ विधामा २०० भन्दा बढी खेलाडी सहभागी भएको प्रतियोगितामा उमेर समूहका खेलहरू पनि आकर्षणका रूपमा रहेका थिए। यू-१३ र यू-१५ महिला दुवै विधामा सुविज्ञा दाहालले उपाधि जित्नुभयो। यू-१३ पुरुषतर्फ भोजपुरका अनिश तामाङ र यू-१५ पुरुषतर्फ प्रतीक विष्ट विजयी हुनुभयो।

भेट्रान्सतर्फ दीपक आङ्देम्बे र मनोज लक्समको जोडी तथा सुपर भेट्रान्सतर्फ सञ्जय भक्तराज र उत्तम सिंहडाको जोडीले उपाधि जिते। आन्तरिक ‘बी’ समूहमा निर्भीक लावती र मणी लिम्बूको जोडी प्रथम भएको आयोजकले जनाएको छ।

पुरस्कारतर्फ पुरुष डबल्स विजेताले ५५ हजार रुपैयाँ प्राप्त गरे भने दोस्रो र तेस्रो हुनेले जनही २८ हजार रुपैयाँ पाए। महिला डबल्स, भेट्रान्स र सुपर भेट्रान्सतर्फ प्रथम हुनेले ४० हजार तथा दोस्रो र तेस्रो हुनेले २० हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे। उमेर समूहका विजेताले १० देखि १५ हजार र आन्तरिक ‘बी’ समूहका विजेताले ३० हजार रुपैयाँ हात पारे।

प्रतियोगितामा कुल ६ लाख ६ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको ब्याडमिन्टन संघ पाँचथरका सचिव मंगल बेघाले जानकारी दिनुभयो।