फणिन्द्र अधिकारी
लेखनाथ (पोखरा), वैशाख १३ गते । राजनीतिक एवं सामाजिक योद्धा बखानसिँह गुरुङको जीवन र उहाँले भोग्नुभएका आरोह–अवरोहलाई समेटेर तयार पारिएको उपन्यास ‘बखान’ माथि पोखरामा परिचर्चा गरिएको छ । गुरुङ साहित्यिक मञ्चले आइतबार आयोजना गरेको कार्यक्रममा उपन्यासकार वसन्त पराजुलीको कृतिमाथि विमर्श गरिएको हो ।
शिखा बुक्सले प्रकाशन गरेको यस कृतिलाई वक्ताले ऐतिहासिक र व्यक्तिपरक उत्कृष्ट सृजनाका रूपमा चित्रण गरे । कार्यक्रममा प्रा.डा. कुसुमकर न्यौपानेले ऐतिहासिक योद्धाको जीवन र तत्कालीन घटनाक्रमलाई उपन्यासले गहिरो ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो कारुणिक भावको उत्कृष्ट उपन्यास हो । आत्मपरक र पूर्वदीप्ति शैलीमा लेखिएको यस कृतिले सच्चा देशभक्त नागरिकलाई सत्ताले कसरी पछि पार्छ भन्ने पक्षलाई पनि उजागर गरेको छ ।”
अर्का समालोचक गौरी तमुले ‘बखान’ उपन्यासले आदिवासी जनजातिको संस्कृति र सभ्यतालाई अगाडि ल्याएको बताउनुभयो । उहाँले कृतिकारले तत्कालीन समयका राजनीतिक र सामाजिक विसंगतिलाई समेत साहसका साथ प्रस्तुत गरेको धारणा राख्नुभयो ।
तनहुँमा जन्मिनुभएका बखानसिँह गुरुङ २००७ सालको क्रान्तिपछि चितवन पुगेर त्यहाँको विकास, निर्माण र समृद्धिका लागि लाग्नुभएको इतिहास छ । उहाँलाई नेपालमा सहकारी आन्दोलनको संस्थापक समेत मानिन्छ । उपन्यासकार पराजुलीले कृतिलाई अनुसन्धानमूलक बनाउन सन्दर्भ सामग्रीको समेत प्रयोग गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष समेत रहनुभएका पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिम्स’ कथा सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । लेखक पराजुलीले सात सालको क्रान्तिको कथा र चितवनको विकासमा बखानसिँहले पुर्याउनुभएको योगदानलाई सम्मान गर्न आफूले यो जोखिमपूर्ण लेखनको प्रयास गरेको बताउनुभयो ।
गुरुङ साहित्यिक मञ्चका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा महासचिव रोशनी तमुले समेत आफ्ना धारणा राख्नुभएको थियो ।