जानु पाण्डे
कपिलवस्तु, वैशाख १२ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले क्षमताभन्दा दोब्बर भार बोकेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधनमाथि कडा कारबाही गरेको छ ।
शनिवार गरिएको विशेष जाँच अभियानका क्रममा ओभर लोड बोकेका २५ वटा भारतीय ट्रकलाई नियन्त्रणमा लिई कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ती सवारी साधनले निर्धारित क्षमताभन्दा दोब्बर भार लिएर नेपाल प्रवेश गरेका थिए । यस्ता ओभर लोड सवारीका कारण सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सडक संरचनामा समेत गम्भीर क्षति पुग्ने भएकाले निगरानी कडा पारिएको हो ।
कारबाहीमा परेका प्रत्येक ट्रकबाट १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । यसअनुसार एकै दिन २५ ट्रकबाट कुल २ लाख ५० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरीले आगामी दिनमा पनि नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि निरन्तर कडा कारबाही गरिने जनाएको छ ।