• १२ वैशाख २०८३, शनिबार

स्याङ्जामा पाँच औलोका सङ्क्रमित

blog

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख १२ गते । पछिल्लो चार वर्षमा स्याङ्जामा पाँच जना औलो सङ्क्रमित भेटिएका छन् । 

“औलो अन्त्य हाम्रो संकल्प : सक्षम छौं, छैन अब विकल्प” भन्ने नारासहित प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले सरोकारवालासँग अन्तरक्रियामा कार्यालयका निमित्त प्रमुख उमेश कुमार तामाङले सो बताउनुभएको हो । 

यहाँ ‘भाइभेक्स’ र ‘फाल्सिफारम’ प्रकारका औंलो संक्रमण देखिएको उहाँले बताउनुभयो । यहाँको पुतलीबजार नगरपालिकामा दुई जना, वालिङ नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र गल्याङ नगरपालिकामा एक÷एक जना संक्रमित भेटिएको हो । 

जिल्लामा स्थानीय स्तरमा औलो सर्ने अवस्था नरहेको भन्दै विशेषगरी भारत लगायत उच्च जोखिम क्षेत्रबाट फर्किने व्यक्तिमा संक्रमण देखिएको तामाङले बताउनुभयो । 

प्रदेश जनस्वास्थ्य कार्यालयले औलो नियन्त्रणका लागि जनचेतना कार्यक्रम, समयमै परीक्षण, उपचार तथा कन्ट्याक्ट ट्रेसिङजस्ता काम नियमित रूपमा गरिरहेको जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जीटीले सरकार र सरोकारवालाको संयुक्त प्रयासबाट औलो नियन्त्रण सम्भव भएको बताउनुभयो ।