राममणि दाहाल
मकवानपुर, वैशाख १२ गते । अग्रज कवि एवं साहित्यकार स्नेह सायमी सम्मानित हुनुभएको छ ।
साहित्य सङ्गम मकवानपुरले हेटौँडामा आयोजना गरेको दुई दिने सङ्गम साहित्य उत्सव २०८३ को अवसरमा साहित्यकार सायमीलाई पारिजात स्मृति सम्मानबाट उहाँ सम्मानित हुनुभएको हो ।
यस्तै मकवानपुर श्री सम्मान श्यामकुमार बानियाँलाई र भेषनाथ अधिकारी स्मृति सम्मान नरेन्द्र परासरलाई प्रदान गरिएको छ ।
साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष आरसी रिजालले कार्यक्रममा उहाँहरु सम्मान गर्नुभएको थियो। उक्त तीन वटै सम्मानको राशि समान १५ हजार ५५५ रुपियाँ रहेको छ ।
कार्यक्रममा विनोद सुनीता सुवेदी साहित्य सम्मानबाट श्याम श्रेष्ठ, मुक्ति तारा साहित्य सम्मानबाट दिनेश शर्मा र मङ्गलादेवी श्रेष्ठ स्मृति नारी सम्मानबाट कल्पना पौडेल जिज्ञासुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा मुक्तक उत्सव, मनका कुरा जीवनका कुरा र आजको आख्यान बहस गरिएको थियो । साथै ३६६ औँ साहित्य सन्ध्या तथा कृति प्रकाशन सम्मान अन्तर्गत लेखकहरु राजाराम बर्तौला, एसआर मञ्जरी, खनित गणेश, छवि अनित्य, सुमी थिङ, डा. विश्वनाथ सञ्जेललगायतलाई सम्मान गरिएको छ ।