• १२ वैशाख २०८३, शनिबार

सशस्त्र प्रहरीद्वारा करिब १६ लाखको अवैध सामान बरामद

blog

सशस्त्र प्रहरीले बरामद गरेका अवैध सामान र नियन्त्रणमा लिएको गाडी । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, वैशाख १२ गते । नेपाल भारत मुख्य नाकामा सय रुपियाँ भन्दा बढीको सामानमा भन्सार शुल्क लगाइएपछि मुख्य नाकाबाट सामान ल्याउने घटेका छन् ।

तर, रातिको समयमा र अन्य नाकाबाट हुने तस्करी र अवैध आयात भने बढेको पाइएको छ । मुख्य नाकामा दिनमा सुरक्षाकर्मीद्वारा अतिनै कडाइ गरिएपछि तस्कर र अवैध कार्य गर्नेले रातीको समयमा साइड नाकाको प्रयोग गरेर अवैध रूपमा सामान भित्र्याउने गरेको पाइएको हो ।

सोही प्रकारले साइड नाकाबाट भन्सार राजस्व छलेर अवैध तरिकाले सामान भित्र्याउन खोज्दा नाकामा तैनाथ शसस्त्र प्रहरीले दुई दिनमा करिब १६ लाख रुपियाँको अवैध सामान बरामद गर्न सफल भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नंं.३० गण हेडक्वार्टर बागेश्वरी र मातहतका विओपीहरुले गत दुई दिनको अवधीमा भारतबाट अवैध रुपमा भित्र्याइएका १५ लाख ९६ हजार ६९७ रुपियाँ बराबरको अवैध सामान बरामद गरेका छन् । 

सशस्त्र प्रहरी बल नेपाल नंं.३० गण हेडक्वार्टर बागेश्वरीका अनुसार बरामद भएका सामानमा किराना सामान, पेय पदार्थ, फलफूल, जुत्ता, मोटरसाइकल, तरकारी, सुर्तिजन्य पदार्थ, एग्रोभेट औषधी, दुध, ब्रोइलर कुखुरा, माछा रहेका छन् । 

उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नंं.३० गण हेडक्वार्टर बागेश्वरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले बताउनुभयो ।

 उहाँले सशस्त्र प्रहरीले नाकामा कडाइ गर्नुका साथै भारतबाट अवैध रूपमा भित्रिने सामानमा समेत कडा निगरानी गर्दै आएको जनाउँदै मातहतका बिओपीलाई समेत सो बारेमा कडा निर्देशन दिइएको बताउनुभयो । 

अवैध रूपमा भित्रिने सामान कुनै पनि हालतमा नछाड्न माथिल्लो तहबाटै आएको निर्देशनलाई पालना गर्दै नाकामा कडाइ गरिएको सशस्त्र प्रहरी बल नेपाल नंं.३० गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ ।

उता, नेपाल भारत नाकाका बस्तीका स्थानीय वासिन्दाले केही दिन यता रातिको समयमा तस्करी र अवैध सामान ओसारपसार बढेको बताएका छन् । जमुनाहा गाउँका स्थानीय रामलाल बर्माले गत केही दिन यता रातभरि मोटरसाइकल र साइकलमा सामान बोकेर निस्कने ठुलो सङ्ख्यामा बढेको बताउनुभयो ।