रामल्लाह, प्यालेस्टिनी क्षेत्रहरू, वैशाख १२ गते । गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैँक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्थित केन्द्रीय निर्वाचन आयोगका अनुसार इजरायलको कब्जामा रहेको वेस्ट ब्याङ्कमा करिब १५ लाख र गाजाको देइर अल-बलाह क्षेत्रमा ७० हजार मतदाताहरु सूचीकृत भएका छन् ।
निर्वाचन आयोगका अनुसार मतदान केन्द्र बिहान सात बजे खोलिएको थियो भने वेलुका सात बजे बन्द हुने छन् । गाजा पट्टीको लगभग आधा भाग नियन्त्रण गर्ने फताहको कट्टर प्रतिद्वन्द्वी हमाससँग सम्बद्ध व्यक्ति मतदाता सूचीमा सूचीकृत नभएको जनाइएको छ । पछिल्लो समयमा प्यालेस्टिनी प्राधिकरणले भ्रष्टाचार, स्थिरता र घट्दो वैधतामाथि व्यापक आलोचनाको सामना गरिरहेको छ ।
सन् २००६ देखि कुनै राष्ट्रपति तथा विधायकी चुनाव नभएको कारण, यस क्षेत्रमा नगरपालिका परिषद् नै प्रशासन अन्तर्गतका काम गर्ने केही लोकतान्त्रिक संस्थाका रूपमा रहेका छन् । संयुक्त राष्ट्रसङ्घका संयोजक रमिज अलक्बारोभले निर्वाचन आयोगले लोकतान्त्रिक प्रक्रिया आयोजना गरी मतदानको वातावरण बनाएकोमा आयोगको खुलेर प्रशंसा गर्नुभएको छ ।
यस अघि विज्ञप्ति जारी गर्दै चुनावले प्यालेस्टिनीलाई चुनौतीपूर्ण अवधिमा आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अवसर दिएको अलक्बारोभले बताउनुभएको थियो । सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएपछि गाजाको विभिन्न भाग ध्वस्त पार्नुका साथै ७२ हजारभन्दा बढी मानिसको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सन् २००७ देखि हमासको नियन्त्रणमा रहेको गाजामा सन् २००६ को विधायी चुनावपछि हाल पहिलो पटक मतदान भइरहेको छ भने यस अघि इस्लामवादी आन्दोलन विजयी भएको थियो । कायरोको अल-अजहर विश्वविद्यालयका राजनीतिक वैज्ञानिक जमाल अल-फादीलाई उदृत गर्दै एएफपीलाई प्यालेस्टिनी प्राधिकरणले देइर अल-बलाहमा मात्र चुनाव गरिरहेको जनाएको छ ।
देइर अल-बलाहको जनसङ्ख्या विस्थापित नभएको कारण मत सर्वेक्षणका लागि यो क्षेत्र छानिएको फादीले बताउनुभएको छ । निर्वाचन आयोगले नागरिक समाज सङ्गठनबाट मतदान कर्मचारी भर्ती गरी मतदान केन्द्र सुरक्षित गर्न एक निजी सुरक्षा कम्पनी नियुक्त गरेको प्रवक्ता फरीद तामाल्लाहलाई उदृत गर्दै एएफपीले जनाएको छ । रासस/एएफपी