• १२ वैशाख २०८३, शनिबार

औषधी बजारलाई व्यवस्थित बनाउन आवश्यक

blog

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट ।

कास्की समाचारदाता

कास्की, वैशाख १२ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले औषधी बजारलाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

नेपाल औषधी तथा विक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए)को २९ औं केन्द्रीय महाधिवेशनको पोखरामा उद्घाटनका अवसरमा उहाँले औषधी बिक्री वितरण मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको निकै संवेदनशील पेसा रहेको बताउनुभयो ।

प्रदेश प्रमुख भट्टले निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएको उल्लेख गर्नुहुँदै निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि रहेको बताउनुभयो ।

‘‘यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्त्वपूर्ण रहेको छ । निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्छ । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य छ । सरकार र निजी क्षेत्रबिचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव छ,’’  उहाँले भन्नुभयो ।

लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।

महाधिवेशनमा देशभरिका १४ एकाइबाट सात सय भन्दा बढी सङ्ख्यामा औषधी बिक्री प्रतिनिधिहरू सहभागी रहेको महासचिव नीरज पन्तले बताउनुभयो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।