• १२ वैशाख २०८३, शनिबार

नागरिकमा भूकम्पीय चेतना

blog

बहत्तर साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक । बारपाकनजिकै रहेको लाप्राक गाउँकी ५३ वर्षीय महिलाले त्यो भूकम्प सम्झँदै भनिन्, “मकै बारीमा थिएँ । जमिन यसरी हल्लियो कि उभिन नै सकिनँ । लडेँ तर तुरुन्त उठेँ । फेरि  लडेँ । आँखा अगाडि नै जमिन चिरा प-यो । चिरामा परिन्छ कि भन्ने डरले सकी नसकी उठेर चिराभन्दा टाढा जान खोजेँ तर फेरि लडेँ । धन्न चिरा मतिर परेन । छेउछाउका रुख त जोडले हल्लिँदै लच्किएर भुइँ छुँदै उठ्दै गरेको देखेँ । अचानक आएको यस्तो अकल्पनीय विपत्मा बाँच्छु जस्तो नै लागेन । दुई जना नाति यो विपत्मा बिते कि भनेर क्वाँ क्वाँ रोएँ पनि । पछि जमिन शान्त भयो र म पनि उभिएँ । अघिका लत्रेका रुख जस्ताका तस्तै भए । निमेष भरमा घर पुगेँ । घरको त नामोनिसान केही बाँकी रहेन छ, गल्र्यामगुर्लुम भत्किएछ । धन्न नातिहरू घरबाहिर खेल्दै रहेछन् र बाँचेछन् । भूकम्प जाँदा यस्तो अत्यासमा परिन्छ भनेर कहीँ कतै सुनेको पनि थिइनँ, पढेको पनि थिइनँ, भोगेको पनि थिइनँ । यस्तो पनि हुन्छ भनेर सिकाउन गाउँघरमा कोही आएका पनि थिएनन् ।’ 

यस्तै सम्झना बहत्तर साल वैशाख २९ गते गएको गोरखा भूकम्पको परकम्पनबारे त्यो बेला कक्षा ९ मा पढ्ने एक जना भाइ सुनाउँछन्, “हामीलाई मिसले कक्षामा पढाइरहनुभएको थियो । अचानक भूकम्प गयो । मिस फुत्तै कक्षाबाट बाहिरिनुभयो । हामी विद्यार्थीहरू हतारिएर निक्लन खोज्दा ढोकामा ठेलम ठेल भयो । भित्तामा ठेलिँदा मेरो कुहिनामा चोट लाग्यो । अरू निम्छरा साथीहरू पनि घाइते भए । त्यो दिन अरू कक्षामा पनि यस्तै घटना भयो । मिसले पहिला हामी विद्यार्थीहरूलाई कक्षाबाट बाहिर निक्लन सघाउनुपर्ने थियो । त्यसो नहुँदा त्यो दिन हामीहरू साह्रै बिखलबन्दमा परेका थियौँ । भूकम्प आउँदा के कसरी कक्षाबाट निक्लनु पर्छ भनेर स्कुलमा सिकाइएको पनि थिएन ।”

अर्को एउटा झनै मर्मस्पर्शी अनुभव एक जना उपमेयर (महिला) को छ । उहाँका अनुसार “वैशाख १२ गते छोराछोरी र हामी श्रीमान्श्रीमती दुवै जना घरमा नै थियौँ । भूकम्पले घर हल्लाउन थालेपछि हामी दुवै जना हतारिएर भाग्ने क्रममा आँगनमा आइपुगेपछि मैले छोराछोरी घरभित्रै छन्, उनीहरूलाई लिन जाऊँ भनेर श्रीमान्लाई भनेँ तर उहाँले त मेरो कुरा सुनेको नसुने झँै गरेर फटाफट घरबाहिर निक्लनुभयो । म भने छोराछोरीलाई लिन घरभित्र फर्किएँ र उनीहरूलाई साथै लिएर बाहिर आएँ । धन्न घर लडेन र हामी बच्यौँ । श्रीमान् यतिसम्म निष्ठुरी होलान् भनेर त मैले कल्पना नै गरेको थिइनँ । उहाँ पढेलेखेको विद्वान् मान्छेमा गनिनुहुन्थ्यो । विपत्का बखत आफ्ना परिवारलाई सहयोग नगर्ने के पढेको होला जस्तो पनि लाग्यो !”

राज्यले नै स्विकारेको तथ्य हो बहत्तर सालको भूकम्पमा प्रभावित भएका ३२ जिल्लामा लगभग पचपन्न हजार कक्षा कोठा भत्किएका थिए । यदि स्कुल चलिरहेको बेला भूकम्प गएको भए हताहत हुनेको सङ्ख्या अकल्पनीय हुने थियो । यो तथ्यले हाम्रा कैयौँ स्कुलका जीर्ण भवनलाई देख्दा कसको आङ सिरिङ्ग हुँदैन होला र !

भूकम्पका कारण सर्वसाधारणले भोगेका यी माथि उल्लिखित अनुभव त प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । हजारौँ मानिसले त्यो बखत ठुलो पीडा भोग्नु परेको त हामीमध्ये धेरैले देखेको र भोगेका पनि छौँ । बहत्तर सालपछि २०८० कात्तिक १७ गते राति जाजरकोटमा पनि भूकम्प गयो र यस्तै प्रकृतिका पीडा सर्वसाधारणले त्यहाँ पनि भोग्नुप-यो । वास्तवमा भूकम्प जाँदा के गर्नु पर्छ भन्ने ज्ञानको अभावले पीडा थपिएको हो भन्ने कुरा माथि उल्लिखित उदाहरणहरूले पनि पुष्टि गर्छन् । अर्थात् भूकम्पसम्बन्धी जनचेतनाको स्तर न्यून भएकै कारण भूकम्प जाँदा धनजनको क्षति न्यूनीकरण गर्न नसकिएको हो तर अहम् प्रश्न के छ भने बहत्तर सालको भूकम्पको पुनर्निर्माण त सकिएको छ, सर्वसाधारणमा चाहिँ भूकम्पसम्बन्धी जनचेतना कति अभिवृद्धि भयो त ? के अब फेरि त्यस्तै विनाशकारी भूकम्प गयो भने विपत्लाई व्यवस्थापन गर्न हामी तयार छौँ । यी प्रश्नको जवाफ खोज्नु र अरू केही सान्दर्भिक विषयमा पनि मानिसको मनस्थिति बुझ्नु अहिलेको आवश्यकता हो ।  

नेपालमा भूकम्पीय जोखिमसम्बन्धी जनचेतना, पूर्वतयारी र जोखिमको अनुभूतिको अवस्था बुझ्‍नलाई प्रश्नावलीमा आधारित एउटा सर्वेक्षण १०७ जना महानुभावसँग गरिएको थियो । सर्वेक्षणमा काठमाडौँमा बसोवास गरिरहनुभएका विपत् व्यवस्थापनमा संलग्न सुरक्षा निकायका कर्मचारी, निजामती सेवाका कर्मचारी, शिक्षक एवं प्राध्यापक, पत्रकार, साहित्यकार, विद्यार्थी, नीति निर्माता र अनुसन्धानकर्ताहरूले वस्तुगत प्रश्नावलीमा सोधिएका प्रश्नको जवाफ छानेर सहयोग गर्नुभएको थियो । उक्त सर्वेक्षणको नतिजा र विश्लेषण यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन आउँछ । 

सहभागीहरूमा आधारभूत वैज्ञानिक ज्ञान धेरै राम्रो देखियो । ९८ प्रतिशतले भूकम्पलाई टेक्टोनिक प्लेटहरूको चालका कारण जाने प्राकृतिक विपत्को रूपमा सही पहिचान गरेका छन् भने ९४ प्रतिशत सहभागीहरू भूकम्पको निश्चित मिति र समय भविष्यवाणी गर्न सकिँदैन भन्ने कुरामा पनि स्पष्ट छन् । ८६ प्रतिशतले नेपालमा जुनसुकै बेला ठुलो भूकम्प आउन सक्छ भन्ने वास्तविकतालाई पनि स्वीकार गरेका छन् । सामान्य ज्ञान राम्रो भए पनि केही प्राविधिक शब्दहरूमा झुक्किने गरेको पाइयो । जस्तै,  इपिसेन्टर (भूकम्पको उद्गम स्थलबाट सबभन्दा नजिकको पृथ्वीको सतह) को सही परिभाषा ३६ प्रतिशतले दिएका छन् भने ५६ प्रतिशतले यसलाई भूकम्प उत्पन्न हुने स्थान (फोकस) सँग झुक्किएका छन् । त्यस्तै भूकम्पको शक्ति नाप्न प्रयोग गरिने शब्दावली (म्याग्निच्युड र इन्टेन्सिटी)  सँग पनि १२ प्रतिशत सहभागी मात्र परिचित भएको देखियो । ८२ प्रतिशतले म्याग्निच्युड मात्र भए पुग्छ भन्ने राय व्यक्त गरे, जुन सत्य त हो तर क्षतिको विवरण यसले दिँदैन ।

करिब ५५ प्रतिशत सहभागीलाई भूकम्पका बखत “ड्रप, कभर, एन्ड होल्ड अन’ गर्ने तरिका थाहा रहनेछ तर अझै पनि २२ प्रतिशत मानिस भवनबाट बाहिर भाग्ने र १९ प्रतिशत ढोकामुनि उभिने सोच राख्दा रहेछन्, जुन भूकम्पको समयमा जोखिमपूर्ण हुन सक्छ । खास गरेर ढोकाको चौकोस बलियो नभएको अवस्थामा ढोकामुनि उभिनु ठिक मानिँदैन । ७२ प्रतिशतलाई आपत्कालीन बाहिरिने बाटो र भेला हुने स्थान थाहा भए पनि घरभित्रका फर्निचर र दराज सुरक्षित रूपमा बाँध्ने कार्यमा कमी देखिएको छ । मात्र ४८ प्रतिशतले यस्तो तयारी गरेका छन्, जसको अर्थ भूकम्पका बखत घरहरूमा सामान खसेर चोट लाग्ने जोखिम छ । ७७ प्रतिशत सहभागीहरूका परिवारका सबै सदस्यलाई ग्यास, पानी र बिजुली बन्द गर्ने तरिका थाहा छ, जुन सकारात्मक पक्ष हो ।

यसै गरी ८८ प्रतिशत सहभागीहरू भूकम्पबाट हुने क्षति कम गर्न भवन निर्माण मापदण्डको पालना र गुणस्तरीय सामग्रीको प्रयोग अनिवार्य ठान्छन् । ९३ प्रतिशत सहभागीहरूमा भूकम्प प्रतिरोधी भवनले ठुलो भूकम्पमा ज्यान जोगाउने तर यसमा सामान्य क्षति हुन सक्छ भन्ने सही बुझाइ रहेछ ।  मात्र ४७ प्रतिशत सहभागी आफ्नो कार्यालयको भवन भूकम्प प्रतिरोधी भएकोमा ढुक्क छन् । २५ प्रतिशतलाई यसबारे जानकारी नै छैन भने २७ प्रतिशतलाई आफ्नो कार्यालय भूकम्प प्रतिरोधक नभएकोमा चिन्ता लागेको छ । भूकम्पीय सुरक्षाका दृष्टिकोणले यो सन्तोषजनक कुरा होइन ।

भूकम्पसम्बन्धी सूचनाको मुख्य स्रोतका रूपमा सामाजिक सञ्जाल देखिएको छ । ७३ प्रतिशत सहभागीले यसलाई सिक्ने सबैभन्दा प्रभावकारी माध्यम मानेका छन् । १० प्रतिशत सहभागीले परम्परागत सञ्चार माध्यम र नेपाली भाषामा लेखिएका पत्रपत्रिकालाई रोजेका छन् भने पाठ्यपुस्तकलाई प्रभावकारी माध्यम मान्नेको सङ्ख्या १९ प्रतिशत मात्र छ । ६२ प्रतिशतले परिवारमा भूकम्पबारे छलफल गर्ने गरेको उल्लेख गरे पनि २९ प्रतिशत सहभागीहरूले यो विषयमा कहिल्यै पनि परिवारसँग कुरा हुँदैन भनेका छन् ।  सैद्धान्तिक कुराभन्दा व्यावहारिक तालिममा मानिसहरूको आकर्षण बढी देखिएको छ । ४८ प्रतिशत सहभागी ‘भूकम्प सुरक्षा अभ्यास’ र ३३ प्रतिशतले क्षति न्यूनीकरणका उपाय सिक्न चाहन्छन् । ६० प्रतिशत सहभागी भूकम्पसम्बन्धी ज्ञान आर्जनका लागि नेपाली भाषामा लेखिएका पुस्तकबारे जानकारी नभएको बताउँछन्, जुन गम्भीर चिन्ताको विषय हो । 

यी माथि उल्लिखित नतिजा काठमाडौँमा हाल बसोबास गरिरहेका, कम्तीमा १२ कक्षा उत्तीर्ण र कुनै न कुनै पेसामा आबद्ध महिला र पुरुष दुवैसँग गरिएको हुनाले नेपालको समष्टिगत प्रतिनिधित्व नहुन पनि सक्छ । प्राप्त नतिजालाई भने वैज्ञानिक अध्ययनबाट प्राप्त ज्ञानसँग दाँजेर हेर्न भने सकिन्छ ।  

भूकम्पका कारण हामीले धनजनको क्षति बेहोर्न थालेको निकै भयो ।  हामीले सुनेको र भोगेको सन् १९३४ र २०१५ को भूकम्पको अलावा ७ म्याग्निच्युडभन्दा ठुला भूकम्प सन् १२५५, १४०८, १५०५ र १८३३ मा गएको कुरा हिमालय क्षेत्रमा अनुसन्धानरत भूवैज्ञानिकहरूले उल्लेख गरेका छन् । त्यसैले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो देशमा विगतमा जस्तै भविष्यमा पनि विनाशकारी भूकम्प पक्का आउँछ तर भूकम्प आउने तिथि, मिति र समयको पूर्वानुमान गर्ने भरपर्दो सूत्र भने वैज्ञानिकहरूले अहिलेसम्मै पत्ता लगाएका छैनन् । यो तथ्यलाई माथि उल्लिखित सर्वेक्षणले पनि पुष्टि गरेको छ किनभने ९४ प्रतिशत सहभागीले यो कुरालाई स्विकारेका छन् ।

विनाशकारी भूकम्पको पुनरावृत्तीय विश्लेषणका आधारमा हिमालय क्षेत्रमा अनुसन्धानरत भूकम्पविद्हरूले नेपालमा भूकम्प जाने सम्भावित ठाउँहरू औँल्याएका छन् । उनीहरूका अनुसार नेपालको पूर्वमा सर्वोच्च शिखर सगरमाथा आसपासको क्षेत्र (सन् १९३४ को भूकम्पले नहल्लाएको भूभाग) काठमाडौँको दक्षिणी क्षेत्र (सन् २०१५ को भूकम्पले नहल्लाएको भूभाग),  पोखरा क्षेत्र (सन् १४०८ र १३४४ पछि विनाशकारी भूकम्प नगएको क्षेत्र) र पश्चिम नेपाल (सन् १५०५ पछि विनाशकारी भूकम्प नगएको क्षेत्र) सम्भावित विनाशकारी भूकम्प जाने क्षेत्र हुन तर यीमध्ये पनि कुन क्षेत्र बढी संवेदनशील छ त भनेर यकिन गर्ने तथ्याङ्क भने उपलब्ध छैन । साथै उल्लिखित ठाउँबाहेक अन्त विनाशकारी भूकम्प जाँदैन भन्नलाई पनि वैज्ञानिक आधार तयार भइसकेको छैन । यी कुरालाई पनि माथिको सर्वेक्षणले राम्रोसँग प्रतिविम्बित गरेको छ किनभने ८६ प्रतिशत सहभागीले विनाशकारी भूकम्प कुनै पनि ठाउँमा कुनै पनि बेला जान सक्ने राय दिएका छन् ।

भूकम्पीय क्षति न्यूनीकरणमा अर्को तथ्य के हो भने भूकम्प स्वयम्ले मान्छे मार्दैन । मानिसहरूको मृत्यु त अवैज्ञानिक तरिकाले बनाइएका भवन भत्किएर र अत्तालिएर जता पायो, उतै दौडँदा भएको हो । अर्थात् वैज्ञानिक तरिकाले घर निर्माण गर्ने र भूकम्प आएका बखत के गर्नु पर्छ भन्ने ज्ञान हामीमा हुने हो भने भूकम्पदेखि डराउनु पर्दैन, सावधानी अपनाए पुग्छ तर यो महìवपूर्ण काममा नै हामी चुकेको कुरा माथिको नतिजाले स्पष्ट पारेको छ किनभने ४९ प्रतिशतले भूकम्पका बखत के गर्ने के नगर्ने दायित्वबोध नभएको हुनाले भूकम्प सुरक्षा अभ्यासमा तालिम लिन चाहेको कुरा इङ्गित गरेका छन् । ९३ प्रतिशतले भने आफ्नो निवास भूकम्प प्रतिरोधक भएमा ज्यान बच्ने तर भवनमा केही क्षति पुग्न सक्छ भन्ने कुरा आफूले बुझेको प्रस्ट्याएका छन् तर आफूले प्रयोग गर्ने भवन भूकम्प प्रतिरोधक भएको वा नभएको थाहा नपाएको कुरा उल्लेख गर्नेहरूको सङ्ख्या पनि चिन्तनयोग्य छ ।  

यी अघिल्ला प्रसङ्गको आशय के हो भने सर्वेक्षणबाट प्राप्त नतिजा वैज्ञानिक आधारले पनि सत्य देखिएको हुनाले त्यहाँ उल्लिखित नतिजालाई  कार्यान्वयनमा लान सकिन्छ भन्ने हो । ४८ प्रतिशत सहभागीले “भूकम्प सुरक्षा अभ्यास’ मा भाग लिने इच्छा व्यक्त गरेको हुनाले कम्तीमा पनि पालिका कार्यालय, संसद् भवन, शैक्षिक संस्था, सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी र गैरसरकारी संस्थाहरूले वर्षमा एक चोटि “भूकम्पीय ड्रिल’ (भूकम्प सुरक्षा अभ्यास) गर्ने व्यवस्थाको सुरुवात गर्नु पर्छ । सर्वेक्षणको नतिजा अनुसार भूकम्पका बखत घरभित्र भएका मानिस अझै पनि भाग्ने वा ढोकामा उभिने सोच राख्ने देखिएकाले “ड्रप, कभर, एन्ड होल्ड अन’  विधिलाई बढी प्रचार गर्नुपर्ने देखिन्छ । राज्यले स्कुलका भवनको प्राविधिक जाँच गरेर आवश्यक देखिएका भवनलाई  प्रबलीकरण प्रविधि प्रयोग गरेर भूकम्प प्रतिरोधक बनाउन प्राथमिकताका आधारमा काम थाल्नु पर्छ । मानिसहरूले सामाजिक सञ्जाल बढी रुचाउने हुनाले जनचेतनामूलक भिडियो र सामग्रीहरू सोही माध्यमबाट फैलाउनु प्रभावकारी हुन्छ । नेपाली भाषामा भूकम्पसम्बन्धी पुस्तक र सामग्रीको अभाव देखिएकाले स्कुलको पाठ्यव्रmममा परिमार्जन गर्नुका साथै साहित्यकार र पत्रकारलाई यो विषयमा लेख्न प्रोत्साहन गर्नु आवश्यक देखिन्छ ।