काठमाडौँ, जेठ १ गते । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ तर नेपालमा भने तत्काल त्यसको असर नपर्ने भएको छ । चिनीको स्वदेशी उत्पादन पर्याप्त भएकाले तत्कालका लागि बजारमा चिनीको अभाव नहुने भएको हो ।
इन्धनको मूल्यवृद्धिका कारण चिनीलगायतका खाद्यान्नको मूल्य बढ्न सक्ने भएकाले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको बताइएको छ ।
आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन आगामी सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा तत्काल लागु हुने गरी प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । रोयटर्सका अनुसार भारतले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको छ ।
यसअघि चालु सिजनमा १५ लाख ९० हजार टन चिनी निर्यात गर्न अनुमति दिएको भए पनि आन्तरिक उत्पादनमा देखिएको अनिश्चितता र विश्वव्यापी कमोडिटी बजारको अस्थिरता मध्यनजर गर्दै भारतले आफ्नो नीतिमा परिवर्तन गरेको हो ।
नेपाल चिनी उत्पादक सङ्घका अनुसार एक लाख ४१ हजार मेट्रिक टन चिनी मौज्दात रहेकाले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि त्यसको असर पर्दैन ।
व्यवसायीका अनुसार बजारमा मौज्दात र आयात गरेको चिनी गरेर दुई लाख टन छ ।
मुलुकमा माग अनुसार चिनी उत्पादन नहुँदा भारतबाट आयात हुने गरेको छ । खुला सिमानाका कारणले गर्दा चोरी तस्कारीबाट समेत नेपालमा चिनी भित्रिने गरेको छ ।
सङ्घका अनुसार मुलुकमा वार्षिक दुई लाख ८० हजार टन आवश्यक पर्ने गर्छ । सङ्घका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख ८७ हजार टन चिनी उत्पादन भएको छ । बजार माग अनुसार उत्पादन कम भए पनि गत वर्षकै चिनी मौज्दात रहेकाले अभाव नहुने सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले विभिन्न १३ वटा चिनी मिलसँग एक लाख ४१ हजार टन चिनी मौज्दात रहेको र ७० हजार टन चिनी आयात भइसकेकाले भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि बजारमा चिनीको अभाव नहुने बताउनुभयो । पुरानै चिनी मौज्दात रहेकाले तत्कालका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि मुलुकमा कुनै असर नपर्ने उहाँको भनाइ छ । बजारमा चिनीको मूल्यवृद्धि नभएको उहाँले जानकारी दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले पनि चिनी निर्यातमा लगाइएको प्रतिबन्धको असर तत्काल नपर्ने जानकारी दिनुभयो । “यस विषयमा सरोकारवाला निकायसँग छलफल गर्दैछौँ,” उहाँले भन्नुभयो “बजारमा अभाव हुने देखियो भने आयातका लागि भारत सरकारलाई अनुरोध गर्ने वा अन्य मुलुकबाट ल्याउनेलगायतका विकल्पमा छलफल गरिने छ ।” अभाव देखाएर बजारमा चिनीमा मूल्यवृद्धि हुन सक्ने भएकाले बजार अनुगमन प्रभावकारी ढङ्गले गर्न निर्देशन दिइने उहाँले जानकारी दिनुभयो । चिनीमा आत्मनिर्भर बन्न उत्पादन बढाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।
सङ्घका अनुसार मूल्य अभिवृद्धि कर र ढुवानी लागतबाहेक चिनीको फ्याक्ट्री मूल्य प्रतिकेजी ८२ रुपियाँ रहेको छ । बजारमा भने खुद्रा मूल्य प्रतिकेजी ११० रुपियाँ रहेको छ । चिनी अभाव हुँदा विशेष गरी औद्योगिक प्रयोजनका लागि बिस्कुट, चकलेट, जुस उद्योगसम्म असर पर्ने देखिन्छ । अन्य समयको तुलनामा चाडपर्वका बेला चिनीको खपत धेरै हुने गर्छ । हाल नेपालमा करिब १५ वटा चिनी उद्योग भए पनि १३ वटा मात्र सञ्चालनमा छन् ।