• १ जेठ २०८३, शुक्रबार

लगातार वर्षा र असिनाले बैतडीमा बालीनालीमा क्षति

blog

बैतडीका विभिन्न स्थानमा हावाहुरीसहित परेको पानी र असिना । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट
बैतडी, जेठ १ गते ।
बैतडीमा केही दिनयता लगातार भइरहेको वर्षा र असिनाले गहुँबाली, तरकारी तथा फलफूल खेतीमा व्यापक क्षति पुगेको छ । दैनिकजसो पानीसँगै असिना पर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

किसानका अनुसार धेरै स्थानमा गहुँ काटेर खेतमै राखिएको अवस्थामा छ भने कतिपय ठाउँमा भित्र्याउन नपाउँदै गहुँ कुहिन थालेको छ । पाटन नगरपालिका–६ की किसान कविता पन्तले वैशाखको पहिलो सातामै गहुँ काटिएको भए पनि निरन्तर वर्षाका कारण अझै घर भित्र्याउन नसकिएको बताउनुभयो । उहाँले खेतमा राखिएको गहुँ कुहिएर कालो हुन थालेको गुनासो गर्नुभयो ।

त्यस्तै सूर्नया गाउँपालिका–४ का किसान हरि महराले गहुँ काटेको झन्डै एक महिना पुग्न लाग्दा पनि पानीका कारण भित्र्याउन नपाइएको बताउनुभयो । “मकै छर्ने समयसमेत भइसक्यो, अब के गर्ने भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो ।

सूर्नया–३ की किसान देवकी भट्टले पनि त्रिपालले छोपेर राखिएको गहुँसमेत कुहिन थालेको बताउनुभयो । उहाँका अनुसार लगातारको वर्षाले गहुँ कालो भइसकेकाले आगामी वर्षका लागि राखिएको बीउसमेत नष्ट हुने चिन्ता बढेको छ ।

किसानहरूले पानीसँगै परेको असिनाले आलुलगायत तरकारीबालीमा समेत क्षति पुर्‍याएको बताएका छन् । सूर्नयाका किसान नवराज अवस्थीले असिनाका कारण तरकारीबाली नष्ट हुन थालेको जानकारी दिनुभयो ।

फलफूल खेतीमा समेत असिनाले असर पुर्‍याएको किसानहरूको भनाइ छ । फूल फुल्ने तथा फल लाग्ने चरणमा रहेका बोटबिरुवामा असिनाले क्षति पुर्‍याएपछि उत्पादन घट्ने चिन्ता बढेको छ । कतिपय स्थानमा गहुँबाली अझै काट्न बाँकी रहेकामा असिनाले बाली ढालेर थप नोक्सानी पुर्‍याएको किसानहरूले बताएका छन् ।

बुधबार दिउँसोसमेत बैतडी का विभिन्न स्थानमा हावाहुरीसहित परेको पानी र असिनाले कृषिबालीमा क्षति पुर्‍याएको  स्थानीयवासीले बताएका छन् । यस्तै, बैतडीका विभिन्न सल्लेरी वन क्षेत्रमा हजारौँ सल्लाका रुख ढलेर ठुलो क्षति भएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।