टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), जेठ १ गते । छत्रकोट गाउँपालिका–१ हुँगाका ३७ वर्षीय यमन चुँदाराले मेसिनबाट ठेकी बनाउन थालेको धेरै वर्ष भएको छैन । दुई वर्षअघिसम्म तीन जनाले दिनभर हातले तानेर ठेकी कुँद्ने गर्नुहुन्थ्यो । हातको काम भएकाले निकै कठिन हुने उहाँ बताउनुहुन्छ । पहिले डोरीले मेसिन घुमाउँदा हातमा फोका परेर खानसमेत समस्या हुने गरेको उहाँको अनुभव छ ।
अहिले भने साढे दुई घण्टामै ठुलो ठेकी तयार हुन्छ । साना ठेकी दिनमा चारदेखि पाँच वटासम्म बनाउन सकिने उहाँले बताउनुभयो । आँखैअगाडि ठेकी निर्माण गरेर लैजान पाउने भएकाले गुल्मी महोत्सवमा उहाँको स्टलमा किन्ने र अवलोकन गर्नेको भीड लाग्ने गरेको छ ।
ठेकी बनाउने काम यमनको पुर्ख्यौली पेसा हो । गाउँमा यो सीप भएका मानिस निकै कम छन् । उहाँका अनुसार अहिले यो काम गर्ने चार–पाँच घरबाहेक अरू कोही छैनन् ।
बुबापछि दाइ प्रेम चुँदाराले यो सीप सिक्नुभएको थियो । दाइको मृत्यु भएपछि अहिले यमनले मात्रै ठेकी कुँद्ने काम गर्दै आउनुभएको छ । वर्षभरको खर्च ठेकी बनाएरै जोहो गर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।
“मानिसले सस्तोमा ठेकी खोज्छन् । काठ र मेहनतका हिसाबले ठेकी महँगो पर्छ,” उहाँले भन्नुभयो, “बजारमा सस्ता सामग्री आएपछि अहिले सोखका लागि घरमा राख्न र गाउँमा भैँसी पाल्नेहरूले महोत्सवबाट ठेकी किन्ने गरेका छन् ।”
उहाँले गिठीको काठबाट बनेको ठेकी बलियो हुने र दही–महीका लागि स्वादिलो मानिने भएकाले यसको महत्व बुझ्नेहरूले खोज्ने गरेको बताउनुभयो । यमनले १२ वर्षदेखि व्यावसायिक रूपमा ठेकी बनाउने काम गर्दै आउनुभएको छ ।
काठ भएका ठाउँमा काम गर्न बोलाउने भएकाले उहाँ जिल्ला तथा जिल्ला बाहिरसमेत जाने गर्नुहुन्छ । बाहिर गएर काम गर्दा घरमै बसेर बनाउँदा भन्दा बढी फाइदा हुने उहाँको भनाइ छ ।
“१० हजार रुपियाँको ठेकी बनाउँदा करिब पाँच हजार रुपियाँ आम्दानी हुन्छ,” उहाँले भन्नुभयो, “मेसिन र काठमा लगानी गर्नुपर्छ ।” उहाँले प्रविधि विस्तारका लागि गाउँपालिकाको सहयोग अपेक्षा गर्नुभएको छ ।