• १ जेठ २०८३, शुक्रबार

जाजरकोटमा सतहत्तर करोड लगानी

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, जेठ १ गते । जाजरकोटमा साझेदार निकायले ७७ करोड रुपियाँभन्दा बढी बजेट लगानी गर्ने भएका छन् । सात वटा स्थानीय तहमा दातृ निकायले क्षमता विकास, विकासनिर्माणलगायत क्षेत्रमा वार्षिक लगानी गरेका हुन् । जिल्ला समन्वय समितिले आयोजना गरेको गैरसरकारी संस्था तथा विकास साझेदार निकायको समीक्षा कार्यक्रममा साझेदार निकायले ७७ करोड ८९ लाख ६७ हजार रुपियाँ चालु आर्थिक वर्षमा लगानी गरिने जनाएका हुन् । 

सात वटा स्थानीय तहमा क्षमता विकास, सिप विकास, पूर्वाधार निर्माणलगायत क्षेत्रमा कार्य गर्दै आएका १२ वटा संस्थाका प्रतिनिधिले दातृ निकायबाट प्राप्त भएको बजेट सार्वजनिक गरेका हुन् । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका निर्देशक टेकबहादुर सुनारले सन् २०२६ सम्म गरिब, दलित, विपन्न, सीमान्तकृत, जोखिममा परेका बालबालिकाको क्षेत्रमा ३० करोड रुपियाँ बजेट परिचालन हुने बताउनुभयो । ग्रामीण बस्तीमा जनताको क्षमता विकास गरी सशक्त बनाउने उद्देश्य रहेको उहाँको भनाइ छ । 

भेरी, छेडागाड, नलगाड नगरपालिका, बारेकोट, जुनीचाँदे, कुसे शिवालय गाउँपालिकामा पाँचतारा युवा संरक्षक मञ्च, पहाडी क्षेत्र विकास अभियान, आरआरएन, सहयोगी हातको समूह सहास नेपाल, युवा जागरण विकास केन्द्र (यार्सन) राष्ट्रिय दलित समाज कल्याण सङ्घ, सोसेक नेपाल, आइएनएफ नेपाल, असल छिमेकी नेपाल, लिवर्ड, नेपाल राष्ट्रिय कल्याण सङ्घ, अपाङ्ग स्वावलम्बन संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

पाँचतारा युवा संरक्षक मञ्चले ३० करोड रुपियाँ, पहाडी क्षेत्र विकास अभियानले २० करोड ७३ लाख ८१ हजार रुपियाँ, सहयोगी हातहरूको समूह (सहास) नेपालले एक करोड ७८ लाख रुपियाँ, युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) ले २७ लाख सात हजार रुपियाँ, राष्ट्रिय दलित समाज कल्याण सङ्घले १२० जना दलित समुदायका बालबालिकालाई छात्रवृत्ति, सोसेक नेपालले पाँच करोड ८५ लाख २७ हजार, आइएनएफ नेपालले जाजरकोट भूकम्प पुनर्लाभ परियोजनामार्फत पाँच करोड ८६ लाख, असल छिमेकी नेपालले एक करोड ६८ लाख, लिवर्डले एक करोड ५९ लाख ६७ हजार, नेपाल राष्ट्रिय कल्याण सङ्घले समाजसेवी तथा गुणस्तरीय शिक्षा परियोजनामार्फत २० लाख रुपियाँ, अपाङ्ग स्वावलम्बन संस्थाले ४३ लाख रुपियाँ वार्षिक रूपमा खर्च गर्ने साझेदार संस्थाले सार्वजनिक गरेको बजेट रहेको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सहदेव बस्नेतले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले गरिब, दलित, अपाङ्ग, जोखिममा परेका बालबालिका, भूकम्पले थला परेका घरपरिवारको पहिचान गरी सेवा प्रवाह गर्नुपर्ने सुझाव दिनुभयो ।