• ३१ वैशाख २०८३, बिहिबार

कुशलचन्द्रको कृषि क्रान्ति : पाँच जनालाई रोजगारी

blog

कृषि तथा पशुपालन व्यवसायमा रमाइरहनु भएका कुशलचन्द्र अधिकारी । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख ३१ गते । पढे–लेखेका युवाहरू जागिरको खोजीमा सहर र विदेश पलायन भइरहेका बेला तनहुँका कुशलचन्द्र अधिकारीले गाउँमै कृषि व्यवसायबाट उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ । 

भानु नगरपालिका–१२ घलेछाप निवासी अधिकारीले समाजशास्त्रमा स्नातकोत्तर गरेर आफ्नै माटोमा ‘मिर्लुङ बहुउद्देश्यीय कृषि फार्म’ मार्फत आफू मात्र स्वरोजगार बन्नुभएको छैन, अन्य पाँच जनालाई रोजगारी दिनुभएको छ । उहाँले कृषि पेसा सुचारु गरेपछि आफ्नो मात्र हैन, गाउँमा बाँझो रहेको दुई सय रोपनी जमिनको सदुपयोग भएको छ । 

२२ वर्षदेखि बाँझो रहेको जमिनलाई हराभरा बनाउँदै अधिकारीले सुरु गरेको यो व्यवसाय अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । ३० वर्षसम्म बहराइनमा पसिना बगाउनुभएका बुवा राजेन्द्र अधिकारीको प्रेरणा र प्रोत्साहनले उहाँलाई व्यावसायिक कृषितर्फ आकर्षित गरेको हो । 


“विदेशमा गरिने दुःख स्वदेशमै गर्न सके नाम र दाम दुबै कमाउन सकिन्छ भन्ने बुवाको सल्लाहले मलाई यो ठाउँमा ल्यायो” अधिकारीले बताउनुभयो । अहिले उहाँको फार्ममा ४० वटा उन्नत बोयर बाख्रा, १२ वटा मुर्रा भैँसी, जर्सी गाई, माछा, कडकनाथ कुखुरा र ४० घार मौरी रहेका छन् । 

मासिक करिब दुई लाख रुपियाँको उत्पादन बिक्री हुने फार्मबाट सबै खर्च कटाएर उहाँले मासिक ५० हजार रुपियाँभन्दा बढी खुद आम्दानी गरिरहनुभएको छ । उहाँले उत्पादन गरेको दुध र पनिर सशस्त्र प्रहरी गण मनकामना भानुले खरिद गर्ने गरेको छ । घिउ, मह र स्थानीय जातका कुखुराको बजारमा उच्च माग छ ।


पशु आहारका लागि १५० रोपनीमा उन्नत जातका घाँस खेती गर्नुभएका अधिकारीले पछिल्लो समय केरा खेती र हिउँदका लागि मकैको ‘साइलेज’ (घाँसको गुन्द्रुक) बनाउने प्रविधि पनि अपनाउनु भएको छ । उहाँको यो पौरखलाई कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८’ प्रदान गरेको थियो । उहाँ गण्डकी प्रदेश र भानु नगरपालिकाबाट समेत उत्कृष्ट कृषकका रूपमा सम्मानित भइसक्नुभएको छ ।

अधिकारीको फार्ममा कार्यरत पाँच जना कामदारले गाउँमै रोजगारी पाउँदा वैदेशिक रोजगारीको विकल्प भेटेका छन् । पढेलेखेको जनशक्ति आधुनिक कृषिमा लाग्ने हो भने उत्पादन बढ्नुका साथै बेरोजगारी समस्या समाधानमा टेवा पुग्ने कुशलचन्द्रको विश्वास छ । 


सरकारले उत्पादनमा आधारित अनुदान र गोठमै प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने सुझाव उहाँको छ । ६५ रोपनी आफ्नो र बाँकी भाडामा गरी दुई सय रोपनी जमिनमा कृषि फर्म सञ्चालन गरेको अधिकारीले जानकारी दिनुभयो ।