• ३० वैशाख २०८३, बुधबार

घरको छतबाट खसेर सर्लाहीमा दुई मजदुरको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, वैशाख ३० गते । सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ घरको छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।

मलङ्गवा नगरपालिका–१० का रञ्जित यादवको चारतले घरको छतमा पानीट्याङ्की राख्ने ढलान प्लास्टर गर्ने क्रममा छतसहित भुइँमा खस्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मलङ्गवा नगरपालिका–२ का ५० वर्षीय छोटु साह र हरिपूर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादव रहेका छन् ।

बुधबार साँझ पौने ५ बजेतिर छतबाट खसेर अचेत भएका दुवै जनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । दुवै मृतकको शव परीक्षण (पोस्टमार्टम) का लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी राईले बताउनुभयो ।