• ३० वैशाख २०८३, बुधबार

गोरखापत्र संस्थानको निमित्त प्रमुखमा ओझा नियुक्त

blog

गोरखापत्र संस्थानको निमित्त प्रमुखमा नियुक्त हुनुभएका कार्यकारी सम्पादक उमेशकुमार ओझा । तस्बिरः सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ३० गते । गोरखापत्र संस्थानको निमित्त प्रमुखमा कार्यकारी सम्पादक उमेशकुमार ओझा नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उहाँ संस्थानको निमित्त प्रमुख नियुक्त हुनुभएको हो। 

संस्थानको दैनिक प्रशासनिक र आर्थिक अधिकारसमेत प्रयोग गर्नेगरी उहाँलाई सो जिम्मेवारी २०८३ वैशाख ३० गतेदेखि लागु हुनेगरी तोकिएको मन्त्रालयद्वारा प्रदान गरिएको पत्रमा उल्लेख छ । 

संस्थान प्रमुख ओझाले बुधबार पदबहाली गर्नुभएको छ । पदबहालीको अवसरमा उहाँले संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीको अनुशासन कायम गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “मैले ध्यान दिने भनेको संस्थानको अनुशासनमा हो, सबैले यसमा सहयोग गर्नुहोला ।”

सरकारको ‘स्पिरिट’ अनुसार आफूले जिम्मेवारीमा रहँदासम्म काम गर्ने जनाउनुहुँदै निमित्त प्रमुख ओझाले सम्पादकीय स्वतन्त्रताको विषयमा पनि ध्यान दिने प्रतिबद्धता जनाउनुभयो । संस्थानमा कार्यरत रहनुभएका सबै कर्मचारी र पत्रकार समान भएकाले कसैले कसैलाई होच्याउने व्यवहार नगर्न उहाँले आग्रह गर्नुभयो । 

यसअघि २०८२ पुस २८ गते संस्थानको अध्यक्षमा नियुक्त गोविन्दप्रसाद भण्डारी (अखण्ड) २०८३ वैशाख २० गतेदेखि पदमुक्त हुनुभएपछि संस्थान प्रमुख पद रिक्त रहेको थियो । 

निमित्त प्रमुख ओझा तथ्याङ्कशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । वि.सं. २०५१ असार ७ गते गोरखापत्रको समाचारदाताका रुपमा सेवा प्रवेश गर्नुभएका ओझा तह १० को जिम्मेवारीमा हुनुहुन्छ । यसअघिसम्म संस्थानको मासिक प्रकाशन युवामञ्चको निमित्त सम्पादकको जिम्मेवारीमा रहनुभएका ओझाले बुधबारदेखि निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो । 

वि.सं. २०२९ कात्तिक ८ गते धनगढी–४ बेहडी कैलालीमा बुवा पुष्करराज ओझा र आमा सुमनदेवी ओझाको कोखबाट जन्मनुभएका निमित्त प्रमुख ओझा पत्रकारितामा तीन दशकदेखि क्रियाशील हुनुहुन्छ ।