• ३० वैशाख २०८३, बुधबार

गोरखामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

blog

दुर्घटनाग्रस्त ट्याक्टर ।

गुणबहादुर रोका

सुलीकोट, वैशाख ३० गते । गोरखाको भीमसेन थापा गाउँपालिका–२, रातामाटेमा ट्याक्टर दुर्घटना हुँदा १३ वर्षीय बालकको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–३, माथिल्लो गाउँका विक्रम बस्यालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गोरखा सदरमुकामबाट निर्माण सामग्री लिएर आरुघाटतर्फ जाँदै गरेको ना. ६ त. ६०९५ नम्बरको ट्याक्टर रातको समयमा सडकबाट अनियन्त्रित भएर करिब ३० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८, जौबारीका राजन परियार र विक्रम बस्याल घाइते हुनुभएको हो । घाइते दुवैलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याइएको थियो । उपचारकै क्रममा बस्याललाई बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक परियारको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।