• ३० वैशाख २०८३, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्को दुवै सदनसमक्ष कहिले प्रस्तुत गरियो ? 

विसं २०८३ वैशाख २८

नीति तथा कार्यक्रम २०८३ का प्रमुख तथ्यहरू

वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष २०८३/८४ देखि आव २०९२/९३ सम्मलाई ‘रोजगार प्रवर्धन दशक’ घोषणा गरी कार्यान्वयन गर्ने ।

विदेशी मुद्रा आर्जन तथा फ्रिलान्सिङलाई सहज बनाउन अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई तत्काल मान्यता दिने ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र नवप्रवर्तनको विकासका लागि छुट्टै ‘राष्ट्रिय नवप्रवर्तन कोष’ स्थापना गर्ने र सार्वजनिक सेवालाई पूर्ण रूपमा ‘पेपरलेस’ र 

‘फेसलेस’ बनाउने ।

जलविद्युत् आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जाको सट्टा आयोजनाकै सेयर हिस्सा दिने नीति लागु गर्ने ।

विद्युत् उत्पादन, वितरण र प्रसारणमा निजी क्षेत्रलाई सहभागी गराउने । राष्ट्रिय ग्रिड नपुगेका स्थानमा सौर्य र लघुजलविद्युत् तथा यातायात क्षेत्रमा ‘ग्रिन हाइड्रोजन’ इन्धनलाई प्राथमिकता दिने ।

पूर्वपश्चिम रेलमार्ग निर्माणलाई निरन्तरता दिने तथा केरुङ–काठमाडौँ र रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणको मोडालिटी टुङ्ग्याउने ।

सडक, रेल, जल, रोपवे र हवाई यातायातलाई समेट्ने गरी ‘एकीकृत राष्ट्रिय यातायात गुरुयोजना’ तयार गरी कार्यान्वयनमा ल्याउने ।

सरकारी कर्मचारी कुनै पनि राजनीतिक दल वा दलका गतिविधिमा संलग्न भएको पाइएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने ।

राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनामा ‘डिजिटल प्रगति ट्र्याकिङ’ गर्ने । 

वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र जग्गाको स्वामित्व प्रदान गर्ने ।

नापी र मालपोत कार्यालयलाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गर्ने ।

‘भिजिट नेपाल २०८५’ को पूर्वतयारी गर्ने । 

आगामी आर्थिक वर्षभित्र नेपाललाई ‘सडक बालबालिकामुक्त’ घोषणा गर्ने ।

विसं २०८७ सम्ममा देशका सबै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने ।

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाई सम्पूर्ण नागरिकको पहुँचमा पु¥याउने । प्राविधिक तथा व्यावसायिक शिक्षालाई सिप र रोजगारसँग जोड्न ‘सार्वजनिक शिक्षा सबलीकरण दशक’ सञ्चालन गर्ने ।

नेपाल कार्बन प्राधिकरण गठन गरी ‘रेड प्लस’ कार्यक्रम विस्तार गर्ने । 


२. राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार नियमिततर्फ कति प्रतिशत परीक्षार्थी उत्तीर्ण (ग्रेडेड समूहमा पर्न सफल) भएका छन् ?

६५.९८ प्रतिशत

२०८२ सालको एसइईमा कुल चार लाख ३० हजार ६६७ परीक्षार्थी सहभागी भएकोमा ६५.९८ प्रतिशत (दुई लाख ८४ हजार १६० जना) उत्तीर्ण (ग्रेडेड समूहमा) भएका छन् । यो नतिजा २०८१ (६१.८१ प्रतिशत) र २०८० (४८ प्रतिशत) को तुलनामा सुधारोन्मुख रहेको छ ।

चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गर्न सामान्यतया तीन महिनाको सट्टा परीक्षा सकिएको २९ दिनमै सार्वजनिक गरी बोर्डले इतिहासमै सबैभन्दा छोटो अवधिमा नतिजा प्रकाशनको रेकर्ड राखेको छ ।

ननग्रेडेड समूहमा परेका एक लाख ४६ हजार ५०७ परीक्षार्थीले जतिसुकै विषयमा अनुत्तीर्ण भए पनि असार १ देखि ९ गतेसम्म सञ्चालन हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

उत्तीर्ण विद्यार्थी विवरण (ग्रेडेड समूह)


३. हाल गोरखापत्रमा ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठमा प्रकाशित हुने भाषाको सङ्ख्या कति पुगेको छ ?

४९ 

पछिल्ला थपिएका भाषाहरू : पछिल्लो पटक गोरखापत्रले अति सीमान्तकृत समुदायका भाषालाई समेट्ने क्रममा विसं २०८२ चैत २८ मा ‘सन्थाल’ र ‘हायु’ तथा २०८३ वैशाख ८ गते ‘बोटे’ भाषा समावेश गरेको छ ।

मुलुकको समावेशी र बहुभाषिक नीतिलाई कार्यान्वयन गर्न विसं २०६४ असोज १ देखि छ वटा मातृभाषा (तामाङ, मैथिली, लिम्बू, गुरुङ, राई र नेवार) बाट यो बहुभाषिक पृष्ठको प्रकाशन प्रारम्भ गरिएको थियो ।


४. अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र प्रभावकारी न्याय सम्पादनमा उल्लेखनीय योगदान पु¥याएको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले हालै ‘सर्वोत्कृष्ट प्रहरी अधिकृत’ का रूपमा कसलाई सम्मान गरेको छ ?

बाँकेका प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसी


५. नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएबापत अन्तर्राष्ट्रिय संस्था ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’ बाट ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल नेपाली फोटो पत्रकार को हुन् ?

प्रदीपराज वन्त (सन् २०२६ मे)


६. नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ वार्षिक साधारण सभाबाट महासङ्घको नयाँ अध्यक्षमा चयन हुन सफल व्यक्तित्व को हुनुहुन्छ ? 

अञ्जनकुमार श्रेष्ठ (विसं २०८३ वैशाख)

उपाध्यक्ष जिल्ला/नगर : कृष्णप्रसाद शर्मा, दिलसुन्दर श्रेष्ठ 

उपाध्यक्ष वस्तुगत : नरेशलाल श्रेष्ठ

उपाध्यक्ष एसोसिएट्स : प्रबलजङ्ग पाण्डे


७. पर्वतारोहणसम्बन्धी संशोधित नियमावली अनुसार वसन्त ऋतुमा सगरमाथाको ‘नर्मल रुट’ (दक्षिणपूर्वी धार) बाट आरोहण गर्न प्रतिपर्वतारोहीले कति सलामी दस्तुर (रोयल्टी) तिर्नुपर्ने व्यवस्था छ ?

१५ हजार अमेरिकी डलर 

सरकारले २०८२ भदौ १६ देखि लागु हुने गरी वसन्त ऋतुमा सगरमाथाको ‘नर्मल रुट’ (दक्षिणपूर्वी धार) बाट गरिने आरोहणको सलामी दस्तुर १५ हजार डलर कायम गरेको छ ।

यही सिजनमा दक्षिणपूर्वी धारबाहेकका दिशाबाट सगरमाथा आरोहण गर्दा १० हजार अमेरिकी डलर बुझाउनुपर्ने । 


८. टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक एउटै ओभरमा ५ विकेट लिएर विश्व कीर्तिमान रच्ने खेलाडी को हुन् ?

गेदे प्रियान्दाना (इन्डोनेसिया, सन् २०२५ डिसेम्बर २३)

इन्डोनेसियाको बालीमा भएको कम्बोडियाविरुद्धको खेलको १६ औँ ओभरमा उनले यो रेकर्ड कायम गरेका । 


९. विश्वको सबैभन्दा लामो सडक कुन हो ? 

पान–अमेरिकन हाइवे (३०,००० किमी)

विश्वका प्रमुख पाँच लामा सडक 

१. पान–अमेरिकन हाइवे – करिब ३०,००० किमी लम्बाइयुक्त यो विश्वको सबैभन्दा लामो 

अन्तर्राष्ट्रिय सडक सञ्जाल हो । यसले उत्तर अमेरिकाको अलास्कादेखि दक्षिण अमेरिकाको अर्जेन्टिनासम्म १४ वटा देशलाई जोड्छ ।

२. एसियन हाइवे १ – करिब २०,५५७ किमी लामो । यो एसियन हाइवे नेटवर्कको सबैभन्दा लामो रुट हो । यो जापानको टोकियोबाट सुरु भई कोरिया, चीन, भारत, पाकिस्तानलगायतका देश हुँदै टर्की र बुल्गेरियाको सिमानासम्म पुग्छ ।

३. हाइवे १, अस्ट्रेलिया – करिब १४,५०० किमी लामो । यो एउटै देशभित्र रहेको विश्वको सबैभन्दा लामो राष्ट्रिय राजमार्ग हो । यसले सम्पूर्ण अस्ट्रेलिया महादेशवरिपरि चक्राकार रूपमा फन्को मार्छ र अस्ट्रेलियाका सबै मुख्य राज्यका राजधानीहरूलाई जोड्छ ।

४. ट्रान्स–साइबेरियन हाइवे – करिब ११,००० किमी लामो । रुसको एक छेउदेखि अर्को छेउसम्म फैलिएको राजमार्गहरूको सञ्जाल । यसले सेन्ट पिटर्सबर्गलाई भ्लादिभोस्तोक (प्रशान्त महासागरको किनार) सँग जोड्छ ।

५. ट्रान्स–क्यानडा हाइवे – करिब ७,८२१ किमी लामो । यो क्यानडाको पूर्वदेखि पश्चिम तटसम्म फैलिएको विश्वका लामा राष्ट्रिय राजमार्गहरूमध्ये एक हो । यसले क्यानडाका सबै १० वटा प्रान्तलाई एकआपसमा जोड्ने काम गर्छ ।


१०. कोशी प्रदेशमा सम्पन्न ‘वुमन लिडरसिप समिट २०२६’ ले कति बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ?

१६ बुँदे (विसं २०८३ वैशाख)


११. नेपाल सरकारले वस्तुको मूल्यमा पारदर्शिता कायम गर्ने साथै उपभोक्तालाई ठगीबाट बचाउने उद्देश्यसाथ देशभर कुन अवधिलाई ‘मूल्य पारदर्शिता सप्ताह’ का रूपमा मनाउने निर्णय ग¥यो ? 

विसं २०८३ वैशाख २८–जेठ ३

सम्पूर्ण उत्पादक तथा आयातकर्ताले आफूले बिक्रीवितरण गर्ने वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी), गुणस्तर, सामग्री र लेबल स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था कडा गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्ने र उपभोक्तालाई ठगीबाट बचाउने उद्देश्यसहित सरकारले यो अभियान सञ्चालन 

गरेको हो ।


१२. ‘न्यु बिज लाइफटाइम अचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?  

हरिप्रसाद पाण्डे


१३. हालै एक क्रुज जहाजमा फैलिएर यात्रुहरूको मृत्युको कारण बनेको भाइरस कुन हो ?

हान्टा भाइरस (अर्जेन्टिनाबाट केपभर्डे जाँदै गरेको एमभी होन्डियस क्रुज, सन् २०२६)


१४. क्षेत्रफल तथा जनसङ्ख्याका हिसाबले दक्षिण अमेरिका महादेशको सबैभन्दा ठुलो राष्ट्र कुन हो ?

ब्राजिल


१५. द्वितीय विश्वयुद्धका समयमा एक्सिस पावर अन्तर्गत रहेको राष्ट्र इटालीका शासक को थिए ?

बेनिटो मुसोलिनी


१६. युरोप महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो ?

आल्पस पर्वत 


१७. ओजोन तह संरक्षणसम्वन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?

सन् १९८७, क्यानडाको मन्ट्रियल 


१८. हाल ब्रिक्स अन्तर्गत कति राष्ट्र रहेका छन् ? 

११ (ब्राजिल, रुस, इन्डिया, चीन, दक्षिण अफ्रिका, इजिप्ट, साउदी अरब, इथियोपिया, युएई, इरान, इन्डोनेसिया)


१९. रानीमहल (ऐतिहासिक उपन्यास) नामक कृतिका सर्जक को हुनुहुन्छ ?   

रामचन्द्र खनाल (रामपुर–३ पाल्पा,  हाल : काठमाडौँ)


२०. विश्व औलो दिवस कहिले मनाइन्छ ?  

अप्रिल २५  

सन् २०२६ को नारा : ड्रिभन टु इन्ड मलेरिया : नाउ वी क्यान, नाउ वी मस्ट । (मलेरिया अन्त्य गर्न प्रतिबद्ध : अब हामी सक्छौँ, अब हामीले गर्नै पर्छ ।)


२१. नेपालको कुन प्रसिद्ध धार्मिक स्थललाई ‘मङ्की टेम्पल’ भनेर पनि चिन्ने गरिन्छ ? 

स्वयम्भूनाथ 


२२. भारतीय राज्य तमिलनाडुको मुख्यमन्त्री बन्न सफल व्यक्तित्व को हुन् ?

थलापति विजय (वास्तविक नाम : जोसेफ विजय चन्द्रशेखर)।

दक्षिण भारतीय सुपरस्टार विजय नेतृत्वको दल ‘तमिलागा वेत्री कझगम (टिभिके)’ ले तमिलनाडु विधान सभा चुनावमा सर्वाधिक १०८ सिट जितेर गठबन्धनको समर्थनमा सरकार गठन गर्दै दशकौँ पुरानो द्रविड राजनीतिक (डिएमके र एआइएडिएमके) एकाधिकार तोडेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी