काठमाडौँ, वैशाख २९ गते । अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकमा बोल्दै उहाँले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक तथा समयसापेक्ष नरहेका कानुन खारेजी प्रक्रियामा लगिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार निजी क्षेत्र तथा व्यवसायिक समुदायले लामो समयदेखि जटिल र दोहोरो कार्यक्षेत्रका कारण असहज महसुस गर्दै आएको राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया पनि औपचारिक रूपमा अघि बढिसकेको छ । विभाग खारेजसँगै त्यसले गर्दै आएका काम सम्बन्धित निकायमा हस्तान्तरण गरिने र त्यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक तयारी भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
अर्थसचिव उपाध्यायले हाल राजस्व अनुसन्धान विभागले गर्दै आएका जिम्मेवारी राजस्व विभाग, भन्सार विभाग तथा सम्पत्ति शुद्धीकरण विभागमार्फत सञ्चालन भइरहेको उल्लेख गर्दै अब ती निकायलाई अझ प्रभावकारी बनाउने गरी कामको पुनःसंरचना गरिने बताउनुभयो ।
उहाँले एउटै प्रकृतिको काम विभिन्न निकायबाट हुँदा प्रशासनिक दोहोरोपन, निर्णय प्रक्रियामा ढिलाइ तथा व्यावसायिक वातावरणमा अनावश्यक दबाब सिर्जना भएको भन्दै सरकारले जिम्मेवारी स्पष्ट गर्ने र संस्थागत दक्षता बढाउने दिशामा सुधार अघि बढाएको बताउनुभयो ।
अर्थसचिव उपाध्यायले भन्नुभयो, “वर्तमान अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक कानुन खारेजी प्रक्रियामा अघि बढेका छन् । व्यवसायिक समुदायले असहज महसुस गरेको राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ । राजस्व अनुसन्धान विभागसम्बन्धी कानुन खारेजीसँगै त्यसका कार्यसम्पादन अन्य विभागमा सारिँदै छन् ।”
उहाँले सरकारले कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको विश्वास अभिवृद्धि तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेको पनि उल्लेख गर्नुभयो । प्रशासनिक संरचना सानो तर प्रभावकारी बनाउने, अनावश्यक निकाय हटाउने र सेवा प्रवाहलाई छिटो तथा सहज बनाउने लक्ष्यसहित सुधार कार्यक्रम लागू गरिएको उहाँको भनाइ छ । न्युज एजेन्सी नेपाल