नवीनराज कुइँकेल
लमजुङ, वैशाख २९ गते । लमजुङका दोर्दी र मर्स्याङ्दी गाउँपालिकाले प्रदेश अस्पताल लमजुङसँगको सहकार्यमा ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराउने भएका छन् ।
पालिकाका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिलाई सहज रूपमा स्वास्थ्य सेवा उपलव्ध गराउन दुबै गाउँपालिका र अस्पतालबिच सहकार्यको सम्झौता भएको हो । सम्झौता अनुसार अस्पताल र पालिकाको सहकार्यमा विशेषज्ञसहितको टेलिमेडिसिन सेवा सञ्चालन गरिने छ ।
स्वास्थ्य सम्बन्धी विभिन्न समस्या भएको बिरामीलाई पालिकामा रहेको स्वास्थ्य संस्थाबाट सिधै अस्पतालमा सम्पर्क गरेर सेवा लिन सक्ने छ । मर्स्याङ्दी गाउँपालिकाले आगामी जेठ महिना भित्रमा टेलिमेडिसिन सेवाका लागि आवश्यक उपकरण व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
तत्कालका लागि खुदी स्वास्थ्य चौकीमार्फत सेवा सञ्चालनको तयारी गरिएको छ । महिनामा एक पटक खदी स्वास्थ्य चौकीबाट प्रदेश अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वारा विशेष परामर्श, स्वास्थ्य जाँच तथा उपचार सेवा प्रवाह गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
दोर्दी गाउँपालिकाले पालिका अस्पतालमै प्रदेश अस्पतालसँगको सहकार्य मासिक रूपमा विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्ने तयारी गरेको छ भने हाल श्रीमञ्ज्याङ स्वास्थ्य चौकीमार्फत टेलिमेडिसियन सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।
पालिकावासीको आवश्यकता अनुसार पालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट टेलिमेडिसियन सेवा सञ्चालन गरिने र सोको लागि आवश्यक उपकरण व्यवस्थापन गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । यस कार्यक्रमले गाउँमै विशेषज्ञ सेवा उपलव्ध गराई नागरिकलाई उपचारका लागि सदरमुकाम तथा सहर धाउनु पर्ने बाध्यता कम गर्ने अपेक्षा लिइएको छ ।
सम्झौतापत्रमा मर्स्याङदी पालिकाको तर्फबाट अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाको तर्फबाट अध्यक्ष युवाराज अधिकारी र प्रदेश अस्तापतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रममा मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, दोर्दीका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, अस्पताल सञ्चालक समिति अध्यक्ष विजय गुरुङ, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको उपस्थिति थियो ।
दुवै गाँउपालिकाले पालिका अस्पताल तथा स्वास्थ्य संस्थामा आएका बिरामीहरूको सहजताका लागि न्यूनतम खर्चमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । यसले टेलिमेडिसियन र विशेषज्ञ सेवाले रोग पहिचानसँगै गुणस्तरीय स्वास्थ्य सेवामा ग्रामीण तथा दुर्गम भेगका नागरिकको पहुँच पुग्नुका साथै नागरिकले स्थानीयस्तरमै सहज रूपमा उपचार सेवा प्राप्त गर्ने वातावरण वन्ने विश्वास गरिएको छ ।