टोपलाल अर्याल
गुल्मी, वैशाख ३० गते । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली कुविन्देका स्वर्गीय लक्ष्मणबहादुर महतको परिवारले रामराज्य माध्यमिक विद्यालयलाई दुई लाख ११ हजार १११ रुपियाँ सहयोग गरेको छ ।
विद्यालयको हीरक महोत्सवको अवसरमा विद्यालयप्रति माया, सम्मान र सामाजिक उत्तरदायित्वको उदाहरणस्वरूप महत परिवारले विद्यालयमा अक्षयकोष स्थापनार्थ उक्त रकम सहयोग गरेको विद्यालयले जनाएको छ ।
स्वर्गीय लक्ष्मणबहादुर महत, स्वर्गीय सुरथबहादुर महत तथा मोतिकला महतका छोरा हुनुहुन्थ्यो । राजन महत, डा. रबिन महत, सोफिया महत र सोनिया महत रामराज्य माविका पूर्वविद्यार्थी भएकाले छोराछोरी तथा श्रीमती टिकादेवी महत (गोमा) सहित परिवारले उहाँको सम्झनामा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेको हो ।
हीरक महोत्सवजस्तो ऐतिहासिक अवसरमा स्थापना गरिने उक्त अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग र विद्यालयका विभिन्न शैक्षिक तथा सामाजिक गतिविधिमा दीर्घकालीन टेवा पुग्ने विश्वास गरिएको छोरा राजन महतले बताउनुभयो ।
परिवारको यस प्रेरणादायी सहयोगले विद्यालयप्रति पूर्वविद्यार्थीहरूको आत्मीयता, जिम्मेवारी र समर्पणलाई थप उजागर गरेको विद्यालयका प्रधानाध्यापक जगत खड्काले बताउनुभयो । उहाँले महत परिवारप्रति विशेष आभार व्यक्त गर्दै यस्तो सहयोगले अन्य पूर्वविद्यार्थी, अभिभावक तथा समाजसेवीलाई पनि शिक्षा क्षेत्रमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीले शिक्षा विकासमा गरिएको यस योगदानलाई उदाहरणीय र अनुकरणीय कार्यका रूपमा प्रशंसा गरेका छन् । हीरक महोत्सवका अवसरमा प्राप्त यस्ता सहयोगले विद्यालयको गौरव अझ उँचो बनाएको र समाज तथा शिक्षाबिचको सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको प्रधानाध्यापक खड्काले बताउनुभयो ।
गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीस्थित रामराज्य मावि ६० वर्षमा प्रवेश गरेको छ । अग्रजहरूको त्याग र समर्पणबाट २०२२ सालमा रामराज्य मिडिल स्कुलका रूपमा सुरु भएको विद्यालयको शैक्षिक यात्रा अहिले हीरक उत्सवसम्म आइपुगेको हो । आगामी जेठ ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने हीरक महोत्सवका लागि आर्थिक सङ्कलन तथा व्यवस्थापकीय कार्य तीव्र रूपमा भइरहेको छ ।
हालसम्म हीरक महोत्सवका लागि रामराज्य माविका पूर्वविद्यार्थी तथा स्थानीय शुभेच्छुक १२१ जनाबाट करिब १२ लाख रुपियाँ आर्थिक सहयोग सङ्कलन भएको विद्यालयका लेखापाल केशव जिसीले जानकारी दिनुभयो ।
यसैबीच, इस्मा गाउँपालिका–४ कल्यार घर भई बुटवल निवासी अमृत जिसीले पनि दिवंगत बुबाको सम्झनामा विद्यालयलाई एक लाख ११ हजार १११ रुपियाँ सहयोग गर्नुभएको छ ।
महोत्सवलाई सफल बनाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर महतको संयोजकत्वमा १६१ सदस्यीय मूल आयोजक समिति तथा १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।