जनार्जन खत्री
सर्लाही, वैशाख ३० गते । सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगमा पर्ने रामनगर गाउँपालिकामा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बरहथवा–मधुवनी सडकस्थित रामनगर गाउँपालिका–५, बैजनाथ चोकमा राति ८ बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक भारत सितामढी ढेग बस्ने ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको हो । बरहथवाबाट गडहीयातर्फ गइरहेको ज ७ प २६१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा चालक पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार अर्का भारतीय नागरिक २३ वर्षका उज्वल पटेल गम्भीर घाइते हुनुभएको छ । घाइते पलेटको भारत सितामढीस्थित एक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक मोटरसाइकल चालकको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । तीव्र गतिका कारण नियन्त्रण गुमाएर मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।