• ३० वैशाख २०८३, बुधबार

प्रभावकारी बन्दै एकद्वार सेवा

blog

काठमाडौँ, वैशाख ३० गते । ललितपुुर महानगरपालिकाले सुुरु गरेको एकद्वार सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । सेवा प्रवाहलाई झन्झटरहित सहज, प्रविधिमैत्री र नागरिकको भौतिक उपस्थितिबिना नै सेवा दिन सकिने गरी २०८१ पुस २ देखि महानगरपालिकाले एकद्वार सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । 

अहिले नापी, भूमि प्रशासन कार्यालय, यातायात र राजस्वलगायतका कार्यालयमा सेवाग्राहीको भिडभाड भइरहेको अवस्थामा महानगरपालिकाले उक्त कार्यालयले समेत अनुसरण गर्न सकिने गरी एकद्वार सेवा केन्द्र प्रभावकारी बनाएको छ । वर्तमान सरकारले सेवा प्रवाहलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन सबै जिल्ला प्रशासन कार्यालयमा एकद्वार सेवा केन्द्र सञ्चालन गर्न गत वैशाख ५ गते निर्देशन दिएको थियो । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार एकद्वार सेवा केन्द्र सञ्चालनमा आएदेखि सेवाग्राहीलाई पटक पटक कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अहिले पनि कतिपय सरकारी कार्यालयमा काम मिलाउन घन्टौँसम्म पनि लाइनमा बस्नु पर्छ भन्ने गलत भाष्यको ललितपुुर महानगरपालिकाले अन्त्य गरेको छ । 

महर्जनले भन्नुभयो, “अहिले  महानगरपालिकामा सेवाग्राहीको खासै भौतिक उपस्थित हुँदैन । सेवाग्राहीका सबै काम प्रणालीबाटै हुन्छ । कतिपय काम कार्यालयमा नै नआई सेवाग्राहीले घरैबाट वा अनलाइनका माध्यमबाट सेवा लिने गरेका छन् ।” केन्द्रमा तीन वटा काउन्टर राखिएको छ । पूर्वाधार निर्माण, वित्तीय व्यवस्थापन, प्रशासनिक तथा अन्य । यी तीन वटा काउन्टरबाट सेवाग्राहीले आवश्यकता अनुसार सेवा लिन सक्ने छन् । अहिले महानगरपालिकाको सेवा लिन सेवाग्राही डकुमेन्ट बोकेर विभिन्न शाखा धाउनु पर्दैन । सेवाग्राहीको फाइल एक पटक महानगरपालिकामा पुुगेपछि महानगरपालिकाकै कर्मचारीले रुजु गर्ने गरिएको छ । यहीबाट समाधान हुने भए त्यतिखेरै जानकारी गराइन्छ । त्यहाँबाट समाधान नहुने अवस्था भयो भने डकुमेन्ट सम्बन्धित शाखामा पु-याइदिने गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले सेवाग्राहीको सेवालाई ध्यानमा राखेर महानगरपालिकाले एकद्वार सेवा केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । 

उहाँका अनुसार सेवाग्राहीको काम तत्काल सकिने भए एकद्वार सेवा केन्द्रबाटै जानकारी आउँछ, समय लाग्ने भए कति समय लाग्छ, त्यसबारे सेवाग्राहीलाई जानकारी गराइन्छ । केही समय कुर्नुपर्ने अवस्था आयो भने सेवाग्राहीले यहाँ कुरेर बस्नु पर्दैन । आफ्नो अरू काम गर्न जान सक्नुहुुन्छ भन्ने गरिएको छ । उहाँले भन्नुभयो, “काम सकिएपछि सकियो भनेर हामी म्यासेज पठाउँछौँ । उहाँहरूले आएर आफ्नो डकुमेन्ट लिएर जान सक्नुहुन्छ भनेर सेवाग्राहीलाई जानकारी गराउने गरिएको छ ।” 

सेवा केन्द्र सञ्चालनमा आएदेखि महानगरपालिकामा फाइल कुन शाखामा पुग्यो, काम सम्पन्न हुन कतिपय समय लाग्छलगायतका जानकारी स्वतः केन्द्र र सम्बन्धित शाखालाई हुन्छ । महानगरपालिकाको एकद्वार सेवा केन्द्रबारे अध्ययन भ्रमण गर्न कपितय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसमेत आउने गरेका छन् ।