• २९ वैशाख २०८३, मङ्गलबार

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख २९ गते । अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ ।

आज यहाँ आयोजित छलफलमा हालसम्म होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार ५४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएका विभागले जानकारी दिएको हो । प्रणालीमा ९४ वटा होटेल मात्र आबद्ध भएका पनि जानकारी दिइयो । 

यसैगरी प्रणालीमार्फत करिब एक लाख २५ हजार यात्रुको अभिलेख सङ्कलन भएको जनाइएको छ । उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौँका तारे होटेल र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकमा लागू भएको छ । 

विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको गतिविधिको अनुगमन तथा अपराध नियन्त्रण, मुलुक पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रणाली लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो । सबै होटेल सङ्घ र एसोसिएसनसँग नजोडिएका कारण प्रणालीमा आबद्ध हुने होटलको सङ्ख्या कम भएको, प्रणालीसम्बन्धी सचेतनाको कमी र साना होटल प्रणालीमा आबद्ध हुन नसकेका विषयमा पनि गम्भीर छलफल भएको उहाँले बताउनुभयो । 

आजको छलफलमा होटेलको अनुगमन गर्ने पर्यटन विभाग र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सेवाप्रदायकका अनुगमनकारी निकायले अनुगमनमा तीव्रता दिने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । “होटेललगायत अन्य प्रकृतिका सेवा प्रदायकहरुलाई प्रणालीमा आबद्ध गर्न विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो,“यो प्रणाली राष्ट्रिय सुरक्षाको विषय पनि भएकाले यस प्रणालीमा सबैलाई आबद्ध हुन विभागले अन्य उपायको खोजी गरिरहेको छ ।”

छलफलमा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोसिएसन नेपाल, होटल व्यवसायी महासङ्घ, पर्यटक प्रहरीलगायत निकायको सहभागिता रहेको थियो । त्यस क्रममा आन्तरिक राजस्व विभाग, पर्यटन विभागबाट होटेललाई प्रवाह हुने सेवासँग प्रणालीलाई आबद्ध गर्ने र प्रणालीमा आबद्ध भएका होटेलको सूची अध्यागमनको नेपाली पोर्टमा राखी भिसा आवेदन गर्दाकै बखत होटल छनोट गर्ने व्यवस्था लागू गर्नेलगायत विकल्पमा समेत छलफल भइरहेको जानकारी दिइयो ।