• २९ वैशाख २०८३, मङ्गलबार

मुस्ताङको लोमान्थाङमा तिजी पर्वको रौनक

blog

माटोको पर्खालले घेरिएको लोमान्थाङ दरबाङ अगाडि मनाइने तिजी पव । फाइल तस्बिर

हरिकृष्ण शर्मा

मुस्ताङ, वैशाख २९ गते । माथिल्लो मुस्ताङवासीले मनाउने ऐतिहासिक तिजी पर्वको तयारी पूरा भएको छ । लोमान्थाङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका गुरुङ र विष्ट समुदायले १४ औँ शताब्दीदेखि मनाउँदै आएको तिजी पर्व लोमान्थाङ दरबारको प्राङ्गणमा मनाइने छ ।

तिजी पर्वको अवसरमा हुने सम्पूर्ण तयारी पूरा भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “तिजीले संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएको छ । पर्यटकले समेत यस पर्वलाई निकै चासोका साथ अवलोकन गर्ने गरेका छन् ।” उहाँका अनुसार पर्वको अवसरमा लामाहरूले विश्व शान्तिको कामना र दैवी प्रकोपबाट मुक्ति पाउन विशेष प्रार्थना गर्ने गर्दछन् ।

तिजी पर्वको पहिलो दिन विभिन्न देवीदेवताको पूजा-आराधना गरिन्छ । दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्यका लागि लामा र भिक्षुहरूले धार्मिक पूजाका साथै विभिन्न मुखुन्डो लगाएर नृत्य प्रदर्शन गर्दछन् । तेस्रो दिन राक्षसलाई धपाएको अभिनय लामाहरूले प्रस्तुत गर्ने परम्परा छ । माथिल्लो मुस्ताङमा सबैभन्दा धेरै विदेशी पर्यटक यही पर्वको अवसरमा पुग्ने गरेका छन् ।

तिजी पर्वलाई बुद्ध धर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडेर हेर्ने गरिन्छ । यस अवसरमा धर्मगुरु पद्मसम्भव (रिम्पोच्छे) को तस्बिर अङ्कित ठुलो आकारको थाङ्का प्रदर्शन गरिन्छ । करिब साढे दुईतले घर बराबरको उचाइको सो थाङ्का दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि राखिने गरिन्छ ।

पर्वको अवसरमा प्राकृतिक प्रकोप, रोगव्याधि, अनिकाल र महामारी जस्ता अनिष्ट नहोस् भनी लामाहरूले प्रार्थना गर्ने गर्दछन् । यस वर्ष स्वदेशी तथा विदेशी गरी दुई हजारभन्दा बढी पर्यटकले पर्वको अवलोकन गर्ने अनुमान गरिएको छ । वैशाख ३० गतेदेखि जेठ २ गतेसम्म आयोजना हुने यस पर्वका लागि देश तथा विदेशबाट मुस्ताङी घर फर्कने क्रम सुरु भएको छ ।