बैतडी समाचारदाता
बैतडी, वैशाख ३० गते । बैतडीको गोकलेश्वरमा रहेको देशकै एक मात्र सामुदायिक कृषि तथा पशु विज्ञान क्याम्पस थला परेको छ । गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसका विद्यार्थीले परीक्षा दिन काठमाडौँ जानुपर्ने झन्झटले विद्यार्थी सङ्ख्या घट्दै गएको क्याम्पस प्रमुख परमानन्द जोशीले बताउनुभयो ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएकाले पढाइ बैतडीमा हुने भए पनि परीक्षा दिन काठमाडौँ जानुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “परीक्षा दिनका लागि विद्यार्थीको हजारौँ रुपियाँ खर्च गर्नुपर्ने अवस्था छ । परीक्षा दिने यस्तै झन्झटिलो प्रक्रियाले पनि विद्यार्थी भर्नादर घट्दै गएको हो ।”
क्याम्पसमा आधुनिक ल्याबसहित सुविधासम्पन्न भवन गरी ३० करोड रुपियाँभन्दा बढीको भौतिक संरचना छ । कृषि अनुसन्धान गर्न ३० रोपनीभन्दा बढीको आफ्नै कृषि बगैँचा पनि छ । चौलानी नदी किनारमा रहेका फराकिला हरिया फाँटमा कृषि अनुसन्धान गर्न उपयुक्त वातावरण भए पनि विद्यार्थी नहुँदा निराश हुनु परेको प्रमुख जोशीले बताउनुभयो ।
जोशी भन्नुहुन्छ, “अध्यापन र अनुसन्धानमा अब्बल रहेको क्याम्पसले अहिलेसम्म पानीमा तरकारी खेती, बर्सैभरि मकै उत्पादन गर्न सकिने र पहाडमा पनि वर्षमा दुई पटक धान उत्पादन गर्ने अनुसन्धान सफल भइसकेको छ ।” क्याम्पसले थप यार्चागुम्बा, जडीबुटी, हिमाली हावापानीमा कृषि खेतीबारे अध्ययन अनुसन्धान गर्न खोजेको छ । नजिकै रहेको दार्चुलाका भेडाबाख्राबारे पनि क्याम्पसले अध्ययन अनुसन्धान अगाडि बढाउने योजना बनाए पनि विद्यार्थी सङ्ख्यामा कमी र आर्थिक चुनौतीले सो कार्यव्रmम अघि बढ्न नसकेको उहाँले बताउनुभयो । कृषि तथा पशु विज्ञानमा स्नातक (बिएसिएजी) को चारबर्से कार्यव्रmममा दुई सय जना विद्यार्थी हुनुपर्नेमा गएको दुई वर्षयता एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । बैतडीको डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरमा रहेको कृषि तथा पशु विज्ञान क्याम्पसमा तीन वर्षअघि भर्ना भएका ५४ जना विद्यार्थी मात्रै अध्ययनरत छन् । ५४ जनामध्ये पनि अधिकांश कोशी प्रदेशका विद्यार्थी रहेको क्याम्पस प्रमुख जोशीले बताउनुभयो । क्याम्पसमा वार्षिक ५० जना विद्यार्थी भर्ना हुन पाउने कोटा निर्धारण गरिएको छ । बैतडी, दार्चुला, डडेलधुरा, अछाम, बझाङ, बाजुरा, डोटी, कैलाली र कञ्चनपुरका विद्यार्थीलाई प्राथमिकता दिइएको छ तर बसाइँसराइले पहाड नै रित्तिन थालेपछि सुदूरपश्चिमका विद्यार्थी भर्ना हुन नआएको उहाँको भनाइ छ ।
विसं २०६७ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर सञ्चालनमा आएको क्याम्पसमा सुरुका वर्ष विद्यार्थी भर्नादर उत्साहजनक थियो । सुदूरपश्चिम र देशैभरिका विद्यार्थीको ओइरो लागे पनि पछिल्लो समय अध्ययन गर्ने विद्यार्थी नपाउँदा क्याम्पस थला परेको क्याम्पसका प्रशासनिक अधिकृत गौरीदत्त जोशीले बताउनुभयो ।
जिल्लामा १० वटा स्थानीय तह छन् । वरिपरि प्राविधिक विषय पढाइ हुने क्याम्पस छ तर स्थानीय तहले कृषि क्याम्पसलाई कुनै सहयोग नगरेको गुनासो उहाँले गर्नुभयो । कृषि तथा पशु विज्ञानको चारबर्से स्नातक तहको पढाइ पूरा गर्न क्याम्पसले प्रतिविद्यार्थी दुई लाख ५० हजार रुपियाँ मात्रै शुल्क लिने गरेको जोशीले बताउनुभयो । स्थानीय सरकारले अरू सहयोग गर्न नसके पनि आफ्नो पालिकाका विद्यार्थीको शुल्क तिर्ने गरी कार्यक्रम बनाउन सक्ने भए पनि चासो नदिएको उहाँको भनाइ छ । क्याम्पसको स्रोत भनेकै विद्यार्थीबाट लिने शुल्क हो । विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पस थला परेको उहाँले बताउनुभयो । सामुदायिक रूपमा सञ्चालन गर्दा आर्थिक र व्यवस्थापकीय चुनौती बढेपछि क्याम्पसलाई सरकारी बनाउन यहाँका स्थानीय लामो समयदेखि पहल गर्दै आएका छन् ।