• ३० वैशाख २०८३, बुधबार

जोगबनी नाकाको सुरक्षामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

blog

सीमाक्षेत्रमा सुरक्षाव्यवस्था कडाइ गरिएसँगै नेपाल प्रवेश गर्ने सबैको परिचयपत्र जाँच गर्दै सुरक्षाकर्मी । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 

विराटनगर, वैशाख ३० गते  । भारतबाट जोगबनी हुँदै नेपाल प्रवेश गर्ने नाकामा सुरक्षाव्यवस्था अत्यन्तै कडा पारिएको छ । मोरङ प्रशासनले सीमा सुरक्षा थप चुस्त बनाउन र अवैध गतिविधि नियन्त्रण गर्न मङ्गलबारदेखि नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि अनिवार्य परिचयपत्र वा विश्वासिलो आधार पेस गर्नुपर्ने व्यवस्था कडाइसाथ लागु गरेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले केही दिनअघिदेखि सुरु गरिएको यो व्यवस्थालाई मङ्गलबारबाट नियमित रूपमा जाँच गरिने जानकारी दिनुभयो । सहायक प्रजिअ कोइरालाका अनुसार दुई देशको सिमानामा हुने अवैध घुसपैठ र गैरकानुनी गतिविधि नियन्त्रण गर्न यो प्रक्रिया थालिएको हो । उहाँले भन्नुभयो, “यो एउटा नियमित सुरक्षा प्रक्रिया हो । दुवै मुलुकको हितका लागि सीमामा हुने गैरकानुनी कार्य रोक्न हामीले सतर्कता अपनाएका हौँ ।”

सुरक्षाव्यवस्था थप व्यवस्थित बनाउन मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहितको टोलीले स्वयम् नाकामा उपस्थित भएर जाँचको अनुगमन गरेको थियो । नाकामा सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ भने सुरक्षा जाँचका लागि दुई वटा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ ।

विशेष गरी भारतको पश्चिम बङ्गालस्थित मालदह क्षेत्रमा रोहिङ्ग्या समुदायको बाक्लो बसोवास रहेको र त्यहाँको चुनावी नतिजापछि ती समुदायका व्यक्ति अन्यत्र बसाइँ सर्न थालेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । कोलकाताबाट जोगबनीसम्म साताको तीन दिन रेल आउने भएकाले ती दिनमा रोहिङ्ग्या नेपाल छिर्न सक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षाकर्मीले विशेष सतर्कता अपनाएको अनुमान गरिएको छ ।

सहायक प्रजिअ कोइरालाले सीमाक्षेत्रमा हुने अन्य अपराध न्युनीकरणका लागि पनि यो जाँच प्रभावकारी हुने बताउनुभयो । प्रशासनले भारततर्फ जाने वा नेपाल फर्कने सम्पूर्ण नेपालीलाई अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा बोक्न र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ । जाँचमा कडाइ गरिएपछि सीमाक्षेत्रमा हुने अनावश्यक घुसपैठ र आपराधिक गतिविधिमा कमी आउने विश्वास गरिएको छ । 

सुरक्षा कडाइका कारण दैनिक उपभोग्य वस्तुका लागि छिमेकी मुलुकका बजार जाने नेपाली उपभोक्तालाई भने खास फरक नपर्ने आश्वासन सुरक्षाकर्मीले दिएका छन् । यद्यपि परिचयपत्र भने साथमै बोकेर आवतजावत गर्न भनिएको छ ।