नवीनराज कुइँकेल
लमजुङ, वैशाख ३० गते । लमजुङका दुई निजी विद्यालयको पाँच विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४.० जिपिए ल्याउँदै जिल्लाको शैक्षिक क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेका छन् ।
बेँसीसहरस्थित युनिभर्सल एकेडेमीका दुई छात्रा निश्मा पौडेल र रोजिना गुरुङले ४.० जिपिए प्राप्त गर्नुभएको छ । विद्यालयबाट सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै शतप्रतिशत नतिजा आएको विद्यालयका प्रिन्सिपल बिमल अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, बेँसीसहरस्थित अर्थली प्याराडाइज आवासीय माध्यमिक विद्यालयको प्रथम श्रेष्ठ, समीर पौडेल र सङ्गम सापकोटाले पनि ४.० जिपिए ल्याउँदै उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ । विद्यालयका अनुसार एसईईमा सहभागी ६४ जनामध्ये ५७ जना उत्तीर्ण भएका छन् ।
विद्यालयको उत्तीर्ण प्रतिशत ८९.०६ रहेको छ । यस पटक सामुदायिक विद्यालयले भने ४.० जिपिए ल्याउन सकेनन् । लमजुङमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अनुसार करिब ७४.६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सार्वजनिक नतिजा अनुसार जिल्लाबाट परीक्षामा सहभागी कुल २ हजार ३१० विद्यार्थीमध्ये १ हजार ७२४ विद्यार्थी ग्रेडेड भएका हुन् भने ५८६ विद्यार्थीको नतिजा एनजी (नन–ग्रेडेड) आएको छ ।
नतिजा अनुसार ५ जनाले ४.०० जिपिए प्राप्त गर्दा सबैभन्दा धेरै विद्यार्थी २.८१ देखि ३.२० जिपिएको समूहमा रहेका छन् । यस वर्ष ३.२० भन्दामाथि जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ५३२ पुगेको छ । यो नतिजा गत वर्षभन्दा करिब नौ प्रतिशतले बढी हो । लमजुङमा गत वर्ष ६४.०७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने परीक्षामा सहभागी भएका दुई जना विद्यार्थीले सर्वोत्कृष्ट चार जीपीए हासिल गरेका थिए ।
गत वर्ष २ हजार ६६९ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा १ हजार ७०९ जना विद्यार्थीले ग्रेडेड नतिजा प्राप्त गरेका थिए ।