• २९ वैशाख २०८३, मङ्गलबार

जलेर घाइते बाबुछोरीको उपचारको क्रममा मृत्यु

blog

मृत्यु भएका बाबुछोरी ।

सुजल श्रेष्ठ

प्युठान, वैशाख २९ गते । जलेर गम्भीर घाइते भएका बाबुछोरीको उपचारको क्रममा ज्यान गएको छ । प्युठान नगरपालिका–९, पाहारपाखाका सानु नेपाली र अन्जली नेपालीको उपचारका क्रममा ज्यान गएको हो ।

४५ वर्षीय बाबु सानुको वैशाख १९ गते कीर्तिपुर अस्पतालमा ज्यान गएको थियो भने १८ वर्षीय छोरी अञ्जलीको मङ्गलबार बिहान अस्पतालमा उपचारकै क्रममा ज्यान गएको पारिवारीक स्रोतले जनाएको छ । 

वैशाख १३ गते राति सवा १० बजेतिर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा सानु र अञ्जली जलेर गम्भीर घाइते हुनुभएको थियो । घरायसी झगडामा सानुले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाउने प्रयास गर्दा छोरीले बचाउन खोज्दा दुबै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

पेट्रोल खोसा–खोस गर्ने क्रममा दुबै जलेर घाइते भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । घाइते दुबै जनाको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँ लगिएको थियो । 

सानु नेपाली वैदेशिक रोजगारीबाट गाउँमा फर्किएपछि दैनिक आम्दानीको लागि पछिल्लो समय अटोगाडी चलाउँदै आउनुभएको थियो ।