• २९ वैशाख २०८३, मङ्गलबार

चैतन्यले ४५ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने

blog

पत्रकार सम्मेलनमा छात्रवृत्ति योजनाबारे जानकारी दिइदैं । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख २९ गते । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि मङ्गलबार पत्रकार सम्मेलन गर्दै उक्त विद्यालयले केहीलाई निःशुल्क आवाससहित ४५ जनालाई पूर्ण छात्रवृत्तिमा पठनपाठन गराउने जनाएको हो । 

प्रतिस्पर्धात्मक परीक्षाको आधारमा उत्कृष्ट २५ जनालाईसहित विभिन्न क्षेत्रमा विशिष्ट क्षमता भएका प्रदेशका प्रत्येक जिल्लाबाट दुई–दुई जना विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउने पाठशालाका कार्यकारी अध्यक्ष गणेशप्रसाद जोशीले जानकारी दिनुभयो । 

उहाँले क्रिकेट, फुटबल, फुटसल, मार्शलआर्ट लगायतका खेलकुदमा कम्तिमा प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाइ उल्लेखखनीय उपलब्धी हाँसिल गरेका विद्यार्थीलाई जिल्लाबाट छात्रवृत्तिमा समेटिनु जानकारी दिनुभयो । यसैगरी, विद्यालय तहमा गणित, विज्ञान आदि विषयमा उल्लेखनीय उपलब्धी हासिल गरेको, कला क्षेत्र, नेतृत्व क्षमता, वक्तृत्वकला, उद्यमशीलतामा उल्लेखनीय उपलब्धी हासिल गरेकालाई पनि जिल्लाबाटै छात्रवृत्तिमा समेटिने जनाइएको छ । छात्रवृत्तिको लागि विद्यालयले आवेदन माग गरेको छ । 

अपी एजुकेशन प्रोजेक्ट अन्तर्गत छात्रछात्रा एक–एक गरी दुई जनालाई आवाससहित पूर्ण छात्रवृत्ति दिने विद्यालयले जनाएको छ । शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मान भन्ने मूल नाराका साथ आफ्नो विद्यालयले विभिन्न सामाजिक क्षेत्रमा समेत सहयोेग गर्दैआएको अध्यक्ष जोशीले बताउनुभयो ।