लीलाधर वली
घोराही, वैशाख २९ गते । दाङमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी बस चालक ४१ वर्षीय पूर्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक बोहराका अनुसार आज दिउँसो मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा. १ ख. २१९८ नम्बरको बसको टायर बबई गाउँपालिका–७, पातिहाल्नास्थित भित्रि सडक खण्डमा पन्चर भएको थियो । पन्चर भएको टायर फेर्ने क्रममा बसको छटमा चढेका चालक वलीलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दियो ।
करेन्ट लागेर गम्भीर घाइते हुनुभएका वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।